बाँकेमा बकर ईद धुमधामकासाथ मनाईदै – Buletnews
बाँकेमा बकर ईद धुमधामकासाथ मनाईदै

त्याग, बलिदान र कुर्बानीको पर्वका रूपमा चिनिने यो पर्व तीन दिनसम्म मनाईने प्रचलन

  • बुलेट न्युज

 बाँके: धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा विभिन्न धार्मिक कार्यक्रमका साथ बिहीबार धुमधामले मनाइँदैछ । त्याग, बलिदान र कुर्बानीको पर्वका रूपमा चिनिने यो पर्व तीन दिनसम्म मनाइन्छ ।

नेपालगन्जस्थित मुख्य इदगाहमा सामूहिक नमाजका लागि बिहानैदेखि नेपालगन्ज र आसपासका क्षेत्रबाट ठुलो सङ्ख्यामा मुस्लिम समुदाय पुगेका थिए । इदगाहभित्र ठाउँ अपुग भएपछि धेरैले विपी चोक आसपास सडकमै नमाज पढेका थिए ।

इदगाहमा सामूहिक नमाज पढेर सुरु भएको पर्व तीन दिनसम्म खसी, भेडा, दुम्बा, राँगा, भैँसीलगायत जनावरको कुर्बानी (हलाल) गरी तेस्रो दिन समापन गरिन्छ । धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरीले यस पर्वको विशेष महत्त्व रहेको बताए।

नमाजपछि मुलुकमा धार्मिक सद्भाव, आर्थिक विकास, शान्ति र अमनचैनको कामना गर्दै सामूहिक प्रार्थना गरिएको थियो ।

इदगाहमा नमाजका लागि पुग्नुभएका पूर्वमन्त्री तथा बाँके–२ का सङ्घीय सांसद मोहम्मद इस्तियाक राईले धार्मिक र सामाजिक सद्भावलाई सुदृढ गर्दै देशको आर्थिक अवस्था बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए।

बकर इदमा कुर्बानी दिने परम्परा अनुसार क्षमता भएका मुस्लिम समुदायले घरघरमै खसी, भेडा, दुम्बा, राँगा, भैँसीलगायतका जनावरको कुर्बानी दिने गरेका छन् ।

मौलाना मन्जरीका अनुसार साना जनावर (खसी, भेडा, दुम्बा) एक जनाको नाममा कुर्बानी गरिन्छ भने राँगा, भैँसी, ऊँटजस्ता ठुलो  जनावरमा सात जनासम्म सहभागी हुन सक्ने परम्परा छ ।

कुर्बानीपछि मासुलाई तीन भागमा विभाजन गरिन्छ, एक भाग गरिबलाई, एक भाग छरछिमेकलाई र एक भाग घरपरिवारका लागि ।

इस्लाम धर्म अनुसार जससँग साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी बराबरको सम्पत्ति छ र ऋण छैन भने उसले कुर्बानी गर्नुपर्ने धार्मिक नियम रहेको छ ।

तीन दिनसम्म मनाइने यो पर्वको पहिलो दिन बिहीबार विभिन्न स्थानमा इद मिलन कार्यक्रम गरी सेवईलगायत परिकार खाने–खुवाउने गरिँदैछ । नेपालगन्जका मुस्लिम अगुवा शकील जसगढले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्