बाँके: हुलाकी राजमार्गअन्तर्गत नेपालगन्ज–गुलरिया सडकको खजुरा खण्डमा रहेको पेडारी नालाको पुल निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको छ ।
हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले बहुप्रतिक्षित पेडारी नालाको पुल निर्माण ९७ प्रतिशत सम्पन्न भई अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनका अनुसार सडकलाई स्तरीय बनाउन ‘कम्प्याक्सन’ कार्य पूरा हुन आवश्यक रहेको छ । पुलमा हाल सवारी आवागमन खुलिसकेको र कम्प्याक्सन कार्यसँगै पुलको दायाँबायाँ भइरहेको स्तरोन्नति काम पनि सँगसँगै अघि बढिरहेको उनले बताए ।
हुलाकी राजमार्ग योजना कार्यालयका अनुसार ३४.४ मिटर लम्बाइ र २२ मिटर चौडाइ भएको चार लेनको उक्त पुल नारायणी निर्माण सेवाले आठ करोड ९६ लाख तीन हजार ६८ रुपियाँमा ठेक्का सम्झौता गरी निर्माण सुरु गरेको थियो । ठेक्का सम्झौताको म्याद सकिन छ दिन मात्र बाँकी रहँदा ९७ प्रतिशत काम सम्पन्न भएको छ । सम्झौताअनुसार जेठ १९ गतेभित्र पुल निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ ।
निर्माण व्यवसायी जयबहादुर खत्रीले सडकलाई दीर्घकालीन रूपमा बलियो बनाउन कम्प्याक्सन पूरा गर्नु आवश्यक भएकाले काममा केही ढिलाइ भएको स्पष्ट पारे । उनका अनुसार एकैपटक माटो पटान गरी कालोपत्रे गर्दा पछि भासिने सम्भावना रहने भएकाले माटो हाल्दै रोलर लगाउँदै कम्प्याक्सन पूरा गर्नुपर्ने हुँदा केही समय बढी लागेको हो ।
निर्माण व्यवसायी खत्रीले थोरै समय म्याद थप गरी भदौमा मात्र कालोपत्रे गर्ने तयारी रहेको जानकारी दिए । पुलको दायाँबायाँ ५० मिटर क्षेत्रमा अर्को निर्माण कम्पनीले काम गरिरहेको र दुबै कम्पनीको समन्वयपछि मात्र कालोपत्रे सम्पन्न गरिने उहाँको भनाइ छ ।
पुल निर्माण सम्पन्न भएपछि ६० वर्षभन्दा पुरानो जीर्ण पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य यात्रुहरूले सुरक्षित आवागमनको सुविधा पाउने स्थानीयले बताएका छन् ।











