बाँके: नेपालगन्ज र आसपासका क्षेत्रमा गर्मी बढ्दै जाँदा माटोका भाँडाहरूको माग पनि बढ्दै गएको छ। पछिल्लो समय गर्मीमा माटोको गाग्री, सुराही र घैंटोमा पानी राखेर पिउने चलन बढेपछि यस्ता भाँडाहरूको माग बढेको हो।
फ्रिजको अत्यधिक चिसो पानीभन्दा माटोको भाँडोमा राखिएको पानी स्वास्थ्यका लागि लाभदायी हुने विश्वासका कारण धेरै मानिसहरू प्राकृतिक रूपमा पानी चिस्याउने परम्परागत भाँडोतर्फ आकर्षित भएका छन्। यसले गर्दा माटोको घैंटो र गाग्रीको माग अत्यधिक बढेको नेपालगन्जको त्रिभुवन चोकमा माटोका भाँडा बिक्री गर्दै आएका सुशिल कुम्हालले बताए।
उनका अनुसार पछिल्लो एक महिनादेखि घैंटो, सुराहीलगायत भाँडा लिन आउनेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। माग अनुसार सामान तयार नहुँदा केही ग्राहक रित्तै फर्कन बाध्य भएको उनले भने ।
त्यसैगरी नेपालगन्ज–८, कुम्हारन टोलस्थित आफ्नै घरबाट माटोका भाँडा निर्माण तथा बिक्री गर्दै आउनुभएका रमेश कुम्हालले पनि गर्मी बढेसँगै माटोका भाँडाको माग बढेको बताए।
उनका अनुसार माटोको अभावका कारण पर्याप्त भाँडा उत्पादन गर्न नसकिँदा माग पूरा गर्न समस्या भइरहेको छ। यसले परम्परागत पेसा नै सङ्कटमा परेको उनको गुनासो छ।
विशेषगरी गर्मी मौसममा माटोको भाँडोमा राखिएको पानी चिसो, स्वादिलो र स्वास्थ्यका लागि लाभदायी हुने भएकाले यसको प्रयोग सहरदेखि गाउँसम्म बढ्दै गएको उपभोक्ताहरू बताउँछन्।
नेपालगन्ज–११ इदगाह रोडका मुबारक सिद्दिकीले सस्तो, स्वास्थ्यका लागि लाभदायी र उपयोगी भएकाले गर्मीमा माटोका भाँडाको प्रयोग बढेको बताए।
तर माग बढ्दै गए पनि परम्परागत रूपमा भाँडा बनाउने कुम्हाल समुदाय कच्चा पदार्थ (माटो) अभावका कारण समस्यामा परेको छ। नेपालगन्ज उपमहानगरपालिकाले कानुन बनेपछि मात्र माटो उपलब्ध गराउने बताउँदै आएको छ।
नेपालगन्जमा बसोवास गर्ने करिब १७० कुम्हाल परिवारमध्ये करिब १५० परिवार माटोका भाँडा निर्माण पेसामा निर्भर छन्। तर माटो नपाउँदा उनीहरूको उत्पादन ठप्प भएको छ।
नेपालगन्ज–८, कुम्हारन टोलका कुम्हाल दिनेश कुम्हालले माटो नपाउँदा चाहेजति भाँडा उत्पादन गर्न नसकिएको र परिवार पाल्नसमेत कठिन भएको बताए ।
उनले माग बढिरहेको अवस्थामा पनि कच्चा पदार्थ अभावले उत्पादन र आपूर्तिमा असर परेको भन्दै समयमै समाधान नखोजिए परम्परागत पेसा लोप हुने खतरा रहेको चेतावनी दिए ।











