२५ देखि २९ जेठसम्म वार्षिक बिदाबाट मिलान हुने गरी सामुदायिक र संस्थागत विद्यालयहरूमा बिदा दिइएको नगरपालिकाका शिक्षा शाखा अधिकृत धनीप्रसाद शर्माले जानकारी दिए ।
त्यस्तै, बुटवल उपमहानगरपालिकाले गर्मी छल्न भन्दै १५ देखि ३१ जेठसम्म बर्खे बिदा दिएको छ । १ असारदेखि नियमित विद्यालय सञ्चालन हुने उपमहानगरले जनाएको छ ।
उता कपिलवस्तुको वाणगंगा नगरपालिकाले वार्षिक शैक्षिक क्यालेण्डर अनुसार २५ देखि २७ जेठसम्म विद्यालयहरूमा बिदा दिइएको नगरपालिकाका शिक्षा शाखा अधिकृत रोशन घिमिरेले जानकारी दिए ।
अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाकाले पनि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । तराईं क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि गर्मी बिदा दिइएको हो ।
नगर कार्यपालिकाको कार्यालयको शुक्रबारको निर्णयअनुसार २५ देखि २७ जेठसम्म वर्षे बिदाबाट मिलान हुनेगरी विद्यालयमा गर्मी बिदा दिइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले अत्यधिक तापक्रमका कारण विद्यालयमा नियमित शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भएको तथा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढेकाले बिदा दिनुपरेको बताए ।
यस्तै, कपिलवस्तुको शिवराज नगरपालिकाले केही दिनयता तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएको, तातो हावा चल्ने तथा उच्च तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विश्वकर्माले अत्यधिक गर्मीका कारण दिउँसोको समयमा कक्षा सञ्चालन गर्दा समस्या हुने देखिएपछि बिहानको समयमा कक्षा सञ्चालन गर्ने निर्णय गरिएको बताए ।
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ६ वटा जिल्ला तराईमा पर्छन् । पछिल्ला केही दिनदेखि रुपन्देही, कपिलवस्तु, दाङसहित तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढेको छ ।









