नेपालगञ्ज: नेपालगञ्जमा ‘रूपान्तरणका लागि प्रविधि’ राष्ट्रिय सम्मेलन हुने भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाईको आयोजनामा शनिवार र आइतबार दुई दिन राष्ट्रिय सम्मेलन हुन लागेको हो । नेपालगञ्जमा आज पत्रकार सम्मेलनको आयोजना गरेर राष्ट्रिय सम्मेलनबारे जानकारी गराइएको हो । नेपालगञ्ज-१४ महेन्द्रनगरस्थित प्रदेश सुशासन केन्द्रमा ‘रूपान्तरणका लागि प्रविधिः लुम्बिनी प्रदेशको विकासका लागि इन्जिनियरिङ तथा सूचना प्रविधि (आइटी) समाधान–२०२६’ नारासहित सम्मेलन आयोजना गर्न लागिएको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. निरज केसीले जानकारी दिए ।
डा. केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा देखिएका समस्याको समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनका अनुसार सम्मेलनमा विभिन्न विषयगत नौ वटा सत्र सञ्चालन हुनेछन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताहरूको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल समेत आयोजना गरिने बताए । विभिन्न क्षेत्रका विज्ञहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको उनले जानकारी दिए । उनले नेपालगञ्जलाई प्रविधिको केन्द्र (टेक्नोलोजी हब) का रूपमा विकास गर्न सम्मेलनले सकारात्मक योगदान पुर्याउने अपेक्षा व्यक्त गरे ।
विश्वविद्यालयका कुलसचिव सह-प्राध्यापक रेग बहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालयबीचको सम्बन्ध सुदृढ बनाउन सम्मेलन उपयोगी हुने बताए । सम्मेलन संयोजक चतुर्भुज भट्टका अनुसार वक्ता, विषयविज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहनेछ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै प्रविधि क्षेत्रको विकास र नीतिगत कार्यदिशा निर्माणमा सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनको सहजीकरण विश्वविद्यालयकी अधिकृत तेजु कुमारी विष्टले गरेकी थिइन् ।









