कोहलपुर,बाँके: तराईका फाँटहरू यतिबेला प्रचण्ड घामको तापले पोलिन थालेका छन्। बिहानैदेखि तातो हावाको लहर चल्न थालेपछि जनजीवन प्रभावित बन्दै गएको छ। विशेषगरी बाँकेसहित तराईका जिल्लामा पछिल्ला केही दिनयता तापक्रम निरन्तर उकालो लाग्दै जाँदा विद्यालय जाने बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति चिन्ता बढेको छ।
यही अवस्थालाई मध्यनजर गर्दै कोहलपुर नगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख रबिलाल मिजारका अनुसार जेठ २५ गतेदेखि २७ गतेसम्म विद्यालयहरू बन्द रहनेछन्।
नगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै यो निर्णय गरेको जनाएको छ। मौसममा तत्काल सुधार आउने संकेत नदेखिएको र तापक्रम लगातार बढिरहेको अवस्थाले बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता महसुस गरिएको मिजारले बताए।
प्रचण्ड गर्मीका कारण दिउँसोका समयमा कोहलपुरका सडकहरू सुनसान देखिन थालेका छन्। बजार क्षेत्रको चहलपहल समेत घट्दै गएको छ भने सर्वसाधारण सकेसम्म घरभित्रै बस्न बाध्य भएका छन्। तातो घाम र लु चल्ने जोखिम बढेसँगै जनजीवनमा प्रत्यक्ष असर परेको स्थानीयहरू बताउँछन्।
स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई बढी प्रभावित पार्न सक्ने भन्दै पर्याप्त पानी पिउन, अनावश्यक रूपमा घाममा ननिस्कन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
नगरपालिकाले हालका लागि तीन दिन बिदा घोषणा गरे पनि मौसमको अवस्था र तापक्रमको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। आवश्यकता अनुसार आगामी दिनमा बिदाको अवधि थप गर्न सकिने संकेत समेत दिएको छ।
गर्मीको बढ्दो प्रकोपसँगै यतिबेला कोहलपुरवासी वर्षाको प्रतीक्षामा छन्। प्रकृतिको शीतल स्पर्श नआएसम्म तराईका बस्तीहरू घामको कठोर परीक्षाबाट गुज्रिनुपर्ने अवस्था देखिएको छ।











