बाँके: नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले हालसम्म बचतकर्ताको ४७ करोड १४ लाख रुपियाँ निक्षेप फिर्ता भुक्तानी गरेको जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट गठित कर्णाली डेभलपमेन्ट बैंक व्यवस्थापन समूहले प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म ४७ करोड १४ लाख रुपियाँ फिर्ता गरिसकिएको जानकारी दिएको हो। विज्ञप्तिमा कर्जा असुलीका आधारमा निक्षेप भुक्तानी तथा संस्थाको सुदृढीकरण प्रक्रिया क्रमशः अगाडि बढिरहेको उल्लेख गरिएको छ।

व्यवस्थापन समूहले निक्षेप अपचलनमा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाउँदै संस्थाबाट प्रवाहित ऋण असुलीबाट प्राप्त रकमका आधारमा निक्षेपकर्तालाई रकम फिर्ता गर्ने कार्य जारी रहेको जनाएको छ।
यसैबीच, पछिल्ला केही दिनयता बैंक तथा व्यवस्थापन समूहलाई लक्षित गरी भइरहेका अवाञ्छित गतिविधिप्रति व्यवस्थापन समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता गतिविधिले बैंकको सुधार प्रक्रियामा थप अवरोध सिर्जना गर्न सक्ने भएकाले नकारात्मक गतिविधिमा संलग्न नहुन बचतकर्ता, शेयरधनी तथा अन्य सरोकारवालासँग अनुरोध गरिएको छ।
कर्णाली डेभलपमेन्ट बैंक व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाले व्यवस्थापन समूह सम्पूर्ण निक्षेपकर्ताको हकहित र निक्षेप सुरक्षाका लागि प्रतिबद्ध रहेको बताउँदै सो कार्यमा सहयोग गर्न सबै बचतकर्ता तथा शेयरधनीसँग आग्रह गरेका छन ।
नेपाल राष्ट्र बैंक सञ्चालक समितिको २०८१ पुस १० गतेको निर्णयअनुसार बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिइएको थियो। त्यसयता राष्ट्र बैंकद्वारा गठित, बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक खतिवडाको नेतृत्वमा रहेको व्यवस्थापन समूहले बैंकको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ।
बेलाबेलामा बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै बैंकको केन्द्रीय कार्यालयदेखि शाखा कार्यालयसम्म घेराउ, नाराबाजी, तालाबन्दी तथा विरोध प्रदर्शन गर्दै आएका छन्।
यस क्रममा जेठ २२ गते दाङको तुलसीपुर शाखामा पुगेका केही बचतकर्ताले कर्मचारीको सूची माग्ने, कर्मचारीलाई भौतिक कारबाही गर्ने तथा तालाबन्दी गर्ने लगायतका धम्की दिएको व्यवस्थापन समूहले जनाएको छ।











