नेपालगन्जमा युवतीमाथि साङ्घातिक आक्रमण, आरोपी पक्राउ – Buletnews
नेपालगन्जमा युवतीमाथि साङ्घातिक आक्रमण, आरोपी पक्राउ

अपराधीलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने र यस्ता घटनाले समाजमा असुरक्षा बढाउने भएकाले सरकार तथा सुरक्षा निकाय गम्भीर बन्नुपर्ने

  • बुलेट न्युज

बाँके:  बाँकेको नेपालगन्जस्थित कारकाँदो ट्राभल भिलेज नजिक सुर्खेत रोड क्षेत्रमा एक युवतीमाथि साङ्घातिक आक्रमण भएको छ। घटनामा घाइते भएकी २० वर्षीया जीना भुजुको उपचार भइरहेको छ।

प्राप्त जानकारी अनुसार २०८३ जेठ २५ गते मध्यराति करिब १ बजे आफ्नै घरमा सुतिरहेकी भुजुमाथि एक व्यक्तिले मार्ने उद्देश्यले आक्रमण गरेको बताइएको छ। आक्रमणका क्रममा उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको जनाइएको छ।

पीडितले आक्रमणकारीसँग प्रतिकार गर्ने क्रममा ठूलो आवाज आएपछि उनका बुवा–आमा घटनास्थलमा पुगेका थिए। परिवारका सदस्यहरूले तत्काल आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएको बताइएको छ।

घटनामा संलग्न व्यक्ति नेपालगञ्ज उपमहानगरपालिका–१६, जसस्पुर निवासी सुरज सुनार सोनकर रहेको पुष्टि भएको छ। घटनाको जानकारी पाएलगत्तै परिवार र स्थानीयले सुरक्षा निकायसँग समन्वय गरेका थिए।

घाइते जीना भुजुको हाल नेपालगन्जस्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ भने पक्राउ परेका आरोपीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

स्थानीयवासी तथा पीडित पक्षले यस्ता जघन्य प्रकृतिका अपराध नियन्त्रण र रोकथामका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्। उनीहरूले अपराधीलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने र यस्ता घटनाले समाजमा असुरक्षा बढाउने भएकाले सरकार तथा सुरक्षा निकाय गम्भीर बन्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्