पूर्वतर्फ सर्दै गइरहेको छ वर्षा गराउने प्रणाली, आज राति कहाँ-कहाँ पर्छ पानी? – Buletnews
पूर्वतर्फ सर्दै गइरहेको छ वर्षा गराउने प्रणाली, आज राति कहाँ-कहाँ पर्छ पानी?

यतिवेला देशका विभिन्न स्थानमा स्थानीय अवस्थाअनुसार फरकफरक प्रकारका बादल विकसित

  • बुलेट न्युज

बाँके : नेपालमा वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गइरहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव छ।

उनले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरे। ‘हाल पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको छ। आवश्यक सावधानी अपनाउनु होला’, उनले भने, ‘यतिवेला देशका विभिन्न स्थानमा स्थानीय अवस्थाअनुसार फरकफरक प्रकारका बादल विकसित भइरहेका छन्।’

विभागका अनुसार मंगलबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ।

मधेश प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्