शिक्षा र स्वास्थ्यमा राप्ती सोनारी-६ को उदाहरणीय पहल, विद्यालय क्षेत्र सुर्ती-मदिरामुक्त घोषणा – Buletnews
शिक्षा र स्वास्थ्यमा राप्ती सोनारी-६ को उदाहरणीय पहल, विद्यालय क्षेत्र सुर्ती-मदिरामुक्त घोषणा

विकासको वास्तविक अर्थ जनहित र भविष्यको पुस्ताप्रतिको जिम्मेवारीमा निहित रहेको सन्देश

  • बुलेट न्युज

बाँके: बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ ले बालबालिकाको स्वास्थ्य, शिक्षाको गुणस्तर तथा सभ्य सामाजिक वातावरण निर्माणका लागि प्रशंसनीय र उदाहरणीय कार्य गरेको छ। आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेटअनुसार वडाले सामुदायिक तथा निजी विद्यालयहरूमा चिसो पिउने पानीको सहज पहुँच सुनिश्चित गर्न आठवटा चिलिङ मेसिन वितरण गरेको छ।

वडा कार्यालयका अनुसार सामुदायिक विद्यालयतर्फ पाँचवटा र निजी विद्यालयतर्फ तीनवटा गरी कुल आठवटा चिलिङ मेसिन वितरण गरिएको हो। बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै यो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ। यसबाट विद्यार्थीहरूले स्वच्छ, सुरक्षित र चिसो पिउने पानी सहज रूपमा प्राप्त गर्ने भएका छन्।

स्थानीय अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले वडाको यस पहललाई विद्यार्थीमैत्री र दूरदर्शी निर्णयको रूपमा लिएका छन्। गर्मी याममा स्वच्छ पानीको उपलब्धताले विद्यार्थीहरूको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

यति मात्र होइन, वडा शिक्षा समितिको बैठकबाट विद्यालय क्षेत्रलाई अझ सुरक्षित, स्वस्थ र अनुशासित बनाउन महत्वपूर्ण निर्णयसमेत गरिएको छ। सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ र मदिराजन्य पदार्थ नियमन ऐन, २०३१ लाई आधार बनाएर विद्यालय वरपर १०० मिटर क्षेत्रभित्र कुनै पनि प्रकारका सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री वितरण र प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

यस निर्णयले विद्यालय परिसरलाई दुर्व्यसनमुक्त क्षेत्रका रूपमा विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। बालबालिकालाई गलत लत र सामाजिक विकृतिबाट जोगाउन वडाले चालेको यो कदमलाई शिक्षा र स्वास्थ्य क्षेत्रका जानकारहरूले समेत सकारात्मक रूपमा लिएका छन्।

स्थानीय बासिन्दाहरूले वडा कार्यालयको यस कार्यको खुलेर प्रशंसा गरेका छन्। उनीहरूका अनुसार विकास भनेको केवल भौतिक संरचना निर्माण मात्र नभई बालबालिकाको स्वास्थ्य, शिक्षा र नैतिक भविष्य सुरक्षित गर्ने काम पनि हो। राप्ती सोनारी–६ ले त्यही सोचलाई व्यवहारमा उतारेको छ।

बालबालिकाको स्वास्थ्य संरक्षण, स्वच्छ वातावरणको सुनिश्चितता र विद्यालय क्षेत्रलाई दुर्व्यसनमुक्त बनाउने दिशामा गरिएको यो पहल अन्य स्थानीय तहका लागि पनि अनुकरणीय नमूना बन्न सक्ने विश्वास गरिएको छ। राप्ती सोनारी गाउँपालिका वडा नं. ६ को यो निर्णयले विकासको वास्तविक अर्थ जनहित र भविष्यको पुस्ताप्रतिको जिम्मेवारीमा निहित रहेको सन्देश दिएको छ!

प्रतिक्रिया दिनुहोस्