नेपालगन्ज भन्सार कार्यालयद्वारा सेवा सुचारु – Buletnews
नेपालगन्ज भन्सार कार्यालयद्वारा सेवा सुचारु

शुक्रवार नै ९८ वटा गाडीलाई भन्सारको प्रक्रिया पूरा गरेर गन्तब्यतिर पठाइयो

  • बुलेट न्युज

बाँके: नेपालगन्ज नाकामा राजस्व संकलनको कार्य सुचारु गरिएको छ । शुक्रवार पेट्रोलियम पदार्थ भन्सार गरि नेपालगन्जतर्फ पठाएपछी भन्सार चलाएमान भएको हो ।

जेनजी आन्दोलनका कारण अस्तव्यस्त र प्रभावित बनेको नेपालगन्जसहित बाँके जिल्लाको जनजीवन सामान्य बन्दैगएपछि यहाँस्थित आइसिपीबाट अत्यावश्यक सामग्रीको भन्सार गरेर गाडीहरु नेपालगन्ज पठाउन सुरु गरिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी पवित्र कुमार खड्काले शुक्रबार पेट्रोलियम पदार्थलगायत तरकारी र खाद्यान्नका ९८ वटा गाडीलाई भन्सार गरेर नेपालगन्जतर्फ पठाइएको बताए ।

उनले बुधबार नै भन्सार गरेर नेपालगन्ज भित्र्याउन लागेको बेला चारैतिर आगजनी र तोडफोड सुरु भएपछि रोकिएका ३८ वटा पेट्रोलियम पदार्थका गाडीलाई सबैभन्दा पहिले पठाइएको बताए ।

ती लगायत आईसिपीमा रहेका सबै गाडीलाई सुरक्षाका लागि बुधबार सीमापारी रुपैडिहाको भारततर्फको आईसिपीमा पठाइएको थियो । अवस्था सामान्य भएपछि झिकाएर भन्सार गरेर नेपालगन्ज पठाउने काम भइरहेको सूचना अधिकारी खड्काले बताए।

उनले पहिलेका ३८ र शुक्रबार ६० वटा गाडी गरेर ९८ वटा गाडीलाई भन्सारको प्रक्रिया पूरा गरेर पठाइएको बताए ।

भन्सार गरेर पठाइएका गाडीहरुमा पहिलेका डिजेल र पेट्रोल र हवाई इन्धनका ३४ र ग्यास बुलेट चार गरेर ३८ तथा शुक्रबार भन्सार गरिएका २१ डिजेल, २३ ग्यास बुलेट, ११ पेट्रोल तथा दुई वटा हवाई इन्धनका ट्याङ्करहरु रहेको भन्सार कार्यालयले जनाएको छ ।

जेनजी आन्दोलनको क्रममा जयसपुरस्थित पुरानो भन्सार कार्यालय तथा जमुनाहा नाका रहेको यात्रु शाखालाई पूर्ण रुपमा जलाएर नष्ट पारिएको थियो भने आईसिपीमा भने कुनै क्षति गरिएको थिएन ।

पुरानो भन्सार कार्यालयबाट मुद्दा मामिलाका कामहरु हुने गरेकोमा सबै कागज पत्र र कम्प्युटर तथा लिलामीका लागि राखिएका सयौं सवारी साधन समेत जलाएर नष्ट पारिएको सूचना अधिकारी खड्काले बताए ।

उनले नेपालगन्ज नाकाबाट दैनिक चार करोडदेखि छ करोडसम्म राजस्व सङ्कलन हुने गरेकोमा दुई दिन भन्सार ठप्प हुँदा राजस्व संकलन प्रभावित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्