भेरीमा नवजात सघन उपचार कक्ष (एनआईसीयू) विस्तार गरिने – Buletnews
भेरीमा दैनिक ३० देखि ४० जना सुत्केरी सेवा
भेरीमा नवजात सघन उपचार कक्ष (एनआईसीयू) विस्तार गरिने

अस्पतालमा रहेका आठ एनआईसीयू शय्यालाई बढाएर २० शय्यासम्म पुर्‍याउने लक्ष्य

  • बुलेट न्युज

बाँके: पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन नवजात सघन उपचार कक्ष (एनआईसीयू) विस्तार गरिने भएको छ ।

हाल अस्पतालमा रहेका आठ एनआईसीयू शय्यालाई बढाएर २० शय्यासम्म पुर्‍याउने लक्ष्यका साथ आवश्यक उपकरण थप गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले जानकारी दिए ।

उनका अनुसार, अहिले एनआईसीयू शय्याको अभावका कारण जटिल स्वास्थ्य समस्या भएका नवजात शिशुलाई अन्य अस्पतालमा प्रेषण (रेफर) गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । सेवा विस्तारपछि अस्पतालले आफ्नै स्रोतसाधनमार्फत थप शिशुलाई उपचार सेवा दिन सक्नेछ भने अन्य अस्पतालबाट प्रेषित भई आउने शिशुलाई एनआइसीयू सेवा उपलब्ध गराउन गराई नवजात शिशुहरुको उपचारमा सहजता आउने छ ।

भेरी अस्पतालमा अहिले सामान्य तथा शल्यक्रियामार्फत दैनिक ३० देखि ४० जना सुत्केरी हुने गरेका छन् । यस्तो अवस्थामा नवजात शिशुको उपचार सेवा विस्तारले मातृ तथा शिशु स्वास्थ्य सेवामा थप टेवा पुग्ने विश्वास छ । थप एनआइसीयू सञ्चालनका लागि आवश्यक चिकित्सक तथा स्टाफ नर्सको व्यवस्थापन गरी तयारी अवस्थामा रहेको अस्पताल प्रमुख डा. दर्नालले बताए ।

अस्पताल प्रशासनले विगतमा विभिन्न कारणले बन्द रहेका सेवालाई पुनः पूर्णरूपमा सञ्चालन गर्ने तथा नयाँ सेवाहरू थप्दै अस्पताललाई क्षेत्रीयस्तरको सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यका साथ योजनाबद्ध ढङ्गले काम अगाडि बढाएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. दर्नालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्