बर्दिया : तीव्र गतिमा नेपालगञ्जबाट गुलरियातर्फ आइरहेको बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकको ठक्करबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरीका एक सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आइतबार बिहान साढे ५ बजे अवैधरूपमा भारत लैजान लागिएको दुई भैंसी र एक पाडालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरिया लैजाने क्रममा गुलरिया नगरपालिका–११ स्थित हुलाकी सडक खण्डको लालपुरमा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका गणेशपुरमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेलको जिल्ला अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले बताए ।
ट्रकको ठक्करबाट घाइते भएका सशस्त्र प्रहरी जवान दीपककुमार जंग शाहलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको सशस्त्र प्रहरी उपरीक्षक महतले जनाए । उक्त घटनामा तीनवटा भैंसी र एक पाडा पनि गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहोराले ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको बताए । उक्त ट्रक गुलरियास्थित टायल उद्योगतर्फ जाँदै गरेको थियो ।











