प्रथम बागेश्वरी एकेडेमी जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता भव्य रूपमा सम्पन्न – Buletnews
प्रथम बागेश्वरी एकेडेमी जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता भव्य रूपमा सम्पन्न

प्रतियोगितामा बाँके जिल्लाका विभिन्न डोजाङबाट ४५० भन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता

  • बुलेट न्युज

कोहलपुर, बाँके: बागेश्वरी एकेडेमी इङ्ग्लिस मिडियम स्कुल, कोहलपुर–१० चटारको आयोजनामा तथा नेपाल तेक्वान्दो संघ, बाँके को सहकार्यमा सञ्चालित “प्रथम बागेश्वरी एकेडेमी जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८३” भव्य रूपमा सम्पन्न भएको छ।

जेठ ३० र ३१ गते विद्यालयको आफ्नै प्राङ्गणमा आयोजित प्रतियोगितामा बाँके जिल्लाका विभिन्न डोजाङबाट ४५० भन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थी तथा युवा खेलाडीहरूमा रहेको प्रतिभा, क्षमता, अनुशासन र खेलकुदप्रतिको आकर्षणलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्कृष्ट खेल कौशल, अनुशासन र खेलभावनाको प्रदर्शन गरेका थिए।

प्रतियोगिताको समापन समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । साथै विद्यालयका निवर्तमान अध्यक्ष चिन्तामणि धिताल, लेखा संयोजक बेगबहादुर ओली, राष्ट्रिय भलिबल रेफ्री प्रकाश शर्मा, राष्ट्रिय तेक्वान्दो संघ नेपाल लुम्बिनी प्रदेश संयोजक बुद्धिबहादुर थापा मगर तथा प्रदेश सचिव प्रेमबहादुर आले लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै महिलातर्फ क्रिसा थापा र पुरुषतर्फ हिमशिखर आचार्य उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनीहरूलाई विशेष ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
त्यसैगरी, डोजाङतर्फ बागेश्वरी तेक्वान्दो डोजाङ प्रथम, रेम्बो तेक्वान्दो डोजाङ द्वितीय तथा स्टेप अफ तेक्वान्दो डोजाङ तृतीय स्थान हासिल गर्न सफल भएका छन्। विजेता टोली तथा खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष किशन गुरुङले तेक्वान्दो जस्तो अनुशासित र चुनौतीपूर्ण खेलले विद्यार्थीहरूमा आत्मविश्वास, साहस, संयम, नेतृत्व क्षमता तथा अनुशासनको विकास गर्ने बताए। विद्यालयले शिक्षासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ बृहत् स्तरमा यस्ता प्रतियोगिताहरू आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, लुम्बिनी प्रदेश संयोजक बुद्धिबहादुर थापा मगरले बागेश्वरी एकेडेमीले शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउँदै जिल्लाको खेल विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै आयोजक, प्रशिक्षक, खेलाडी तथा अभिभावकहरूलाई धन्यवाद ज्ञापन गरे।
दुई दिनसम्म प्रतिस्पर्धात्मक, व्यवस्थित तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न प्रतियोगिताले जिल्लामा तेक्वान्दो खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा आपसी सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको भनाइ छ।

कार्यक्रमका सञ्चालक गणेश बिष्टले सम्पूर्ण अतिथि, खेलाडी, प्रशिक्षक, अभिभावक, सहयोगी संस्था तथा विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै प्रतियोगिताको औपचारिक समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्