बाँके: कर्णाली डेभलपमेन्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
बाँके, बर्दिया र दाङ जिल्लामा रहेका बैंकका १९ वटा शाखा कार्यालयका बचतकर्ताहरूले सोमबार काठमाडौंमा भेला भई प्रदर्शन गरेका हुन्।
लामो समयदेखि आफ्नो निक्षेप फिर्ता पाउन नसकेको र सम्बन्धित निकायले मागको सुनुवाई नगरेको उनीहरूको गुनासो छ।
प्रदर्शनका क्रममा उनीहरूले कर्णाली बैंक घोटालाका दोषीहरूलाई कारबाही गर, संस्थाहरूको बचत फिर्ता गर, र जनताको निक्षेप तुरुन्त फिर्ता गर, जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।
बैंकमा भएको अनियमितताका कारण आफ्नो बचत जोखिममा परेको भन्दै उनीहरूले तत्काल रकम फिर्ताको सुनिश्चितता गर्न माग गरेका छन्।











