नौबस्ताबाट फरार दुई कैदी बढैयातालमा पक्राउ – Buletnews
नौबस्ताबाट फरार दुई कैदी बढैयातालमा पक्राउ

फरार अभियोगी सिमावती भारतीय नाका बलैगाउँ हुँदै भाग्ने तयारीमा थिए

  • बुलेट न्युज

बर्दिया: जेन–जिको आन्दोलनको क्रममा बाँके नौबस्ता कारागारबाट फरार भएका दुई कैदी बन्दीलाई आइतबार राति सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका–१ शान्तिपुर मिलन चोकस्थित सानो डाँफेबाट खटिएको बिओपीका सप्रनानी जोख बहादुर केसीको कमाण्डमा ५ जना र प्रहरी चौकी जमुनीबाट प्रनानी ओम प्रकाश खत्री कमाण्डमा ४ जना खटिएको टोलीले चेकजाँज गर्दा फरार कैदी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीले पक्राउ परेका बाँके कोहलपुर नपा–२ विकास नगरका २८ वर्षीय ध्रुव सिंह ठकुरी र सुर्खेत वीरेन्द्रनगर नपा–४ का २१ वर्षीय रोहन बस्याल रहेको बताए । ‘ठकुरी चोरी, डकैती र लागुऔषध सम्बन्धी मुद्दाका अभियोगी भएको,’ उनले भने, ‘बस्याल लागुऔषध सम्बन्धी मुद्दाका अभियोगी हुन् ।’

फरार अभियोगी सिमावती भारतीय नाका बलैगाउँ हुँदै भाग्ने तयारीमा थिए । अभियोगीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय, मैनापोखरलाई बुझाइएको सहायक प्रहरी उपरीक्षक शाहीले जनाए ।

प्रतिक्रिया दिनुहोस्