खुल्यो नेपाल भारत जमुनाहा नाका – Buletnews
खुल्यो नेपाल भारत जमुनाहा नाका

दुबै देशका नागरिकलाई पूर्ण रुपमा आवागमन गर्न अनुमति

  • बुलेट न्युज

नेपालगन्ज: यहाँस्थित नेपाल भारत सीमा नाका पूर्ण रुपमा सञ्चालनमा आएको छ । केही दिन बन्द रहेको नाका सोमबारदेखि पूर्ण रुपमा खुलेको हो । जेनजी प्रदर्शनका कारण केही दिन बन्द गरिएको र पछि आंशिक रुपमा सञ्चालन गरिएको नेपाल भारत जमुनाहा सीमानाका आजबाट पूर्ण रुपमा खुलेको दुबै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

आजबाट नाका पूर्ण रुपमा खोलिएको जनाउँदै भारत रुपैडिहास्थित भारतीय सुरक्षा निकाय एसएसबीका निरीक्षक ऋतुराजले अब नाकामा कुनै प्रकारको समस्या नरहेको बताए । उनले भारतबाट नेपाल जाने नेपाली यात्रुलाई सुरुबाटै जान दिइएको जनाउँदै तर अहिले आएर दुबै देशका नागरिकलाई पूर्ण रुपमा आवागमन गर्न दिइएको बताए ।यसअघि भारतले बिरामी, एम्बुलेन्स तथा अन्य आपातकालीन अवस्थाका नेपाली नागरिकलाई मात्र भारत प्रवेश गर्न दिएको थियो, भने भारतीय नागरिकलाई नेपाल आउन दिएको थिएन ।

नेपालतर्फको अवस्था सामान्य भएर जनजीवन पुरानै लयमा फर्किसकेपछि जमुनाहा नाका पूर्ण रुपमा सुचार गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाले पनि जनाएको छ । भारतबाट स्वदेश फर्किएका नेपालीहरुले अहिले आवागमनमा कुनै पनि समस्या नरहेको जनाउँदै परिचयपत्र हेरेर सहज रुपमा आवागमन गर्न दिइरहेको जनाएका छन् ।

देशभरि जेनजीले प्रदर्शन सुरु गरेपछि केन्द्रको आदेश जनाउँदै भारतीय सुरक्षाकर्मीले सीमा नाका गत बुधवारबाट बन्द गरेका थिए । यता, नेपाली सुरक्षाकर्मीहरुले पनि भारतबाट आउने नेपालीलाई आउन दिए पनि भारतीय नागरिक र सवारी साधनको प्रवेशमा रोक लगाएका थिए । यसअघि प्रदर्शनकारीहरुले जमुनाहाको प्रहरी चेकपोष्टसहित भन्सार यात्रु शाखामा मङ्गलबार दिउँसो आगजनी र तोडफोड गरेर ध्वस्त बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्