राजस्व अनुसन्धान कोहलपुरबाट लुटिएको साढे दुई लाखसहित सुनचाँदी फिर्ता – Buletnews
राजस्व अनुसन्धान कोहलपुरबाट लुटिएको साढे दुई लाखसहित सुनचाँदी फिर्ता

जिल्लाका विभिन्न कार्यालयहरुबाट लुटिएको सामान छिटपुट रुपमा फिर्ता आउन थाले

  • बुलेट न्युज

बाँके: जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा आगो लगाएपछि त्यहाँबाट लुटिएको ठुलो परिमाणको नगद रकम र सुन चाँदी फिर्ता ल्याइएको छ ।

राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटिएको दुई लाख ५२ हजार रुपियाँ नगद, ४२१ ग्राम सुन तथा नौ किलो चाँदी कोहलपुरका जनप्रतिनिधि र समाजसेवीहरुको पहल तथा इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियतामा फिर्ता गरिएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय तथा सम्बन्धित कार्यालयहरुले लुटिएको रकमसहित सामानहरु फिर्ता गर्ने सूचना जारी गरेपछि स्थानीयको सहयोगमा फिर्ता ल्याउन थालिएको छ ।

राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको रकम र सुनचाँदीमध्ये सोमबार राति नेपाली रुपियाँ एक लाख १७ हजा ६५० र भारतीय रुपियाँ ८४ हजार ३६० को एक लाख ३४ हजार ९७६ रुपियाँ नेपाली गरेर दुई लाख ५२ हजार ६२६ रपियाँ, ४२१.३२ ग्राम सुन र नौ किलो ९८४ ग्राम चाँदी इलाका प्रहरी कार्यालयमा फिर्ता बुझाइएको सो कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताईन।

उनले नगदसहितको सो सामान राजस्व अनुसन्धान कार्यालय, कोहलपुरका शाखा अधिकृत खडकप्रसाद उपाध्याय, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा मुचुल्का तयार गरी कार्यालयमा सुरक्षित राखिएको बताईन ।

यसअघि प्रहरीले आइतबार पनि कोहलपुर नगरपालिका २ सालको बुटा नजिकैबाट नगद सात लाख ६६ हजार रुपियाँसहित कोहलपुर ५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका १८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रलाई पक्राउ गरेको थियो ।

सो रकम उनीहरुले पैसा निकालेर बैंकबाट निस्किएका एकजनाको झोला लुटेर फरार भएका थिए । तर केही बेरमै प्रहरीले पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले बा ८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त रकमसहित पक्राउ गरेको थियो ।

उता, जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सूचना प्रकाशित गरेपछि जिल्लाका विभिन्न कार्यालयहरुबाट लुटिएको सामान छिटपुट रुपमा फिर्ता आउन थालेको छ । फिर्ता नगर्नेहरुको खोजी गरेर कडा कानुनी कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए ।

प्रतिक्रिया दिनुहोस्