चितवन: चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइनखोला भन्ने स्थानमा पहिरो खस्दा शुक्रबार साँझदेखि बन्द नारायणगढ–मुग्लिन सडक अझै खुलाउन सकिएको छैन।
खुलाउने प्रयास जारी रहे पनि निरन्तर एकपछि अर्को पहिरो खसिरहेकाले अहिलेसम्म सडक खुलाउन नसकिएको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिए।
‘खसेको पहिरो पन्छायो, फेरि खस्छ, फेरि खस्छ भइरहेको छ’ उनले भने, अहिलेसम्म सडक खुल्ने छाँटकाट देखिएको छैन।’
उनका अनुसार शुक्रबार साँझ ६:२५ देखि अहिलेसम्म सडक अवरुद्ध छ। सवारीसाधनको लाइन लागेको छ। यात्रुको बिजोग भएको छ।सडक अब कति समयपछि खुल्ला, केही अनुमान गर्न सकिएला?
‘खै भन्नै गाह्रो छ, अझै ४/५ घण्टा लाग्ला कि’, डीएसपी खनालले भने, ‘डोजर र प्रहरी खटिएको खटियै छन्, तर पहिरो झरेको झर्यै गर्छ।’
यसअवधिमा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको उनले बताए। यसैबिच पुर्वी नवलपरासीको दाउन्ने खण्ड १० घण्टापछी खुलेको छ। सडक सन्चालनमा आएपनी सवारी साधनहरुको अधिक चाप र लेन अनुशासन पालना नहुदा ठाउँ ठाउमा जाम हुँदै आएको छ ।











