चितवन: लगातारको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। शुक्रबार साँझ तुइन खोला पुल नजिकै खसेको ठूलो पहिरो हटाउने काम शनिबार दिनभर चले पनि सफल हुन सकेन।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, शनिवार दिनभर पहिरो पन्छाउने प्रयास भइरहेका बेला फेरि ठूला ढुंगा र लेदो खसेर काम गर्न कठिन भएको हो। “एक्साभेटरमा क्षति हुने अवस्था देखिएपछि र रातको समयमा जोखिम बढ्ने भएकाले प्रमुख जिल्ला अधिकारीको अनुरोधमा काम आइतबार बिहान ३ बजेसम्मका लागि स्थगित गरिएको छ,” उनले जानकारी दिए।
विभागले दिएको विवरणअनुसार, शनिबार बिहान ७:४० बजे पुनः ठूलो पहिरो खस्दा करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइमा सडक ढाकिएको छ। करिब ७० मिटर माथिबाट निरन्तर ढुंगा खसिरहेकाले तत्काल सडक खुलाउने सम्भावना कमजोर भएको विभागले जनाएको छ।
हाल प्राविधिक टोली घटनास्थलमै तैनाथ रहेको र अवस्था सामान्य भएसँगै सडक खोल्ने काम सुरु गर्ने तयारी भएको बताइएको छ।
मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै, यात्रु दुई रातसम्म सडकमै अलपत्र
तस्बिर : रासस
काठमाण्डौ – अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अझै खुलेको छैन । मुग्लिन नजिकै पर्ने तुईन खोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
अस्ति खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको छ । लगातार पहिरो खसेका कारण सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक खुल्न नसक्दा अस्ति बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका छन् ।
कोही गाडीमै र कोही सडकमै सुतेका छन् । धेरै यात्रु भोकै बस्न बाध्य छन् । आज उज्यालो हुनेबित्तिकै सडक खुलाउने प्रयास शुरु भएको मुग्लिन प्रहरीले जनाएको छ । तर पहिरो ठूलो भएकाले खुल्न समय लाग्नेछ ।
सडक डिभिजन कार्यालय भरतपुरले सकेसम्म वैकल्पिक बाटोको प्रयोग गर्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार मुग्लिन सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ ।











