काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत आन्दोलनका क्रममा भएको बल प्रयोग, दमन र नागरिकहरूको हत्या तथा त्यसको भोलीपल्ट देशव्यापी रूपमा देखिएको विध्वंस -आगजनी र लुटपाटका घटनालाई फरक–फरक तरिकाले टुक्र्याएर होइन, सम्पूर्ण रुपमा गहिरो छानबिन गरेर मात्र सत्य उजागर गर्न सकिने बताउँदै सबै दोषीहरूलाई कडाइका साथ कारबाही गर्नुपर्ने जोड दिनुभएको छ।
मदन भण्डारी मेमोरियल कलेजमा आयोजित अन्तरक्रिया तथा राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै भण्डारीले भन्नुभयाे, “आन्दोलनका मागहरू न्यायोचितनै थिए र शान्तिपूर्ण बाटो अपेक्षित पनि थियो, तर कतिपय क्षेत्रमा भएको बल प्रयोग र प्रहरीद्वारा दमन र मानिसहरूको ज्यान गुम्नु दुर्भाग्यपूर्ण र अस्वीकार्य हो। अर्कोतर्फ, आन्दोलनको भोलीपल्ट जुन विध्वंस, आगजनी तथा लुटपाट भयो—त्यसले अनेक प्रश्न खडा गरेको छ। यी दुई प्रक्रिया एउटै श्रृंखलामा पर्ने वा परस्पर सम्बन्धित छन् कि छैनन्, त्यो छुट्टै गरी छुट्टै तरिकाले बृहद् तरिकाले छानबिन हुनुपर्छ।”
भण्डारीले यसप्रकारका घटनाहरूले शान्तिपूर्ण आन्दोलनको भावना कमजोर भएको र समाजमा बढी विखण्डनको वातावरण सिर्जना भएको बताउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन राष्ट्रिय तहमा सुझबुझपूर्ण कदम चाल्नुपर्ने समेत बताउनुभयाे । उहाँले थप्नुभयाे, “यदि कसैले कानुनी सीमाना भंग गरेको छ भने, कानूनी संस्थाहरूले निष्पक्ष तर कडा कारबाही गर्नुपर्छ—उनीहरू खेलौना होइनन्। त्यो अपराधी चाहे राज्यका एजेन्ट हुन् वा सडकका प्रतिभागी, सबैलाई कानूनको दायरा भित्र लिएर न्याय सुनिश्चित गर्नुपर्छ।”
कार्यक्रममा करिब दुई सयभन्दा बढी राजनीतिज्ञ, पूर्वसरकारका अधिकारी, सामाजिक सङ्गठनका प्रतिनिधि, विद्वान तथा समुदायका अगुवाहरू सहभागी हुनुहुन्थ्याे। सहभागीहरूले पनि बल प्रयोग तथा दमनको विरुद्धमा आवाज उठाउँदै, विध्वंस र आफ़्नो लक्ष्यभन्दा बाहिर गएका तत्वहरूलाई निष्तेज पार्नु पर्नेमा एकमत हुनुहुन्थ्याे।
पूर्वराष्ट्रपतिले यस छलफललाई निरन्तरता दिने र विस्तृत सुझाव संकलन गरी सरकार तथा सम्बन्धित निकायहरूसँग समन्वयमा सार्थक निकास खोज्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे।
भण्डारीले राष्ट्रिय एकता र सहमतिको आवश्यकता दोहोर्याउँदै सबै दल, समुदाय, तह र तप्कालाई गम्भीर भएर मुलुकको निकासमा योगदान पुर्याउन आह्वान गर्नुभयाे। उहाँले भन्नुभयाे, “हाम्रो साझा लक्ष्यलाई माथि उठाएर मात्र स्थायी समाधान सम्भव छ। विभाजन र बदला भावनाले कुनै समस्या समाधान गर्दैन—त्यसले केवल घाँउलाई झन गहिरो बनाउँछ।”
कार्यक्रममा सहभागीहरूद्वारा पेश गरिएका सुझावहरू, स्थानीय तहका प्रतिनिधिहरूको प्रतिवेदन तथा पीडित परिवारहरूसँगको संवादलाई समेटेर अगाडि बैठकहरू आयोजना गरिने र विस्तृत नीति सिफारिशहरू सरकारलाई बुझाउने योजना समेत प्रस्तुत गरिएको छ।
अर्कोतिर, नागरिक समाजका प्रतिनिधिहरूले स्वतन्त्र छानबिनमा आवश्यक स्रोत र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् भने मानवअधिकारका संगठनहरूले पनि घटना सम्बन्धी तथ्य सङ्कलन र प्रमाण सुरक्षित गर्ने काम तीव्र पार्ने बताएका छन्।
पूर्वराष्ट्रपति भण्डारीले अन्त्यमा सबै क्षेत्रका अगुवाहरूलाई संयम अपनाउन, संवेदनशीलतालाई मध्यनजर राखेर जनता र संवैधानिक संस्थाप्रति सहमतिका साथ अघि बढ्न आग्रह गर्दै भन्नुभयाे “हामीले अहिले जुन क्षण भोग्दैछौं, त्यसले हामीलाई परस्पर घृणा होइन, बलियो सहकार्य र न्यायमूलक समाधान तर्फ धकेल्नुपर्छ।”
यो पहलले देशभरका विविध आवाजलाई सुन्ने एउटा प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएकाे छ । पूर्वराष्ट्रपति भण्डारीले सुरु गर्नुभएकाे अभियानबाट आगामी दिनहरूमा मुलुकको गहिरीदो संकट समाधानका लागि ठोस सिफारिशहरू आउने सम्भावना रहेको कार्यक्रमका सहभागीहरूले बताउनुभयाे।











