थारू समुदायमा आज गँवल्या टीका लगाउँदै – Buletnews
थारू समुदायमा आज गँवल्या टीका लगाउँदै

सेतो टीका शान्तिको प्रतीक भएकाले थारू समुदायमा सेतो टीका लगाउने परम्परा

  • बुलेट न्युज

दाङ: थारू समुदायमा आज गँवल्या टीका लगाउँदै छन् । थारू समुदायले परम्परागतदेखि गाउँमा गँवल्या टीका लगाउँदैआएको थारू अगुवाहरू बताउँछन् ।

गाउँका मटावा (प्रमुख व्यक्ति) सँग गँवल्या टीका लगाउने परम्परा रहेको थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीले जानकारी दिए। नवमीको दिन घरमा पूजापाठ सकाएर गाउँको भूईह्यारथानमा जमरा, बेबरी र गोल्द्रामा देउता छाँकी चढाउने दारू लिएर गाउभरिको गर्ढुर्याहरू भेला हुन्छन्, उनले भने । भुईह्यार थानमा सबैजना भेला भएपछि मटावाँले देउथानमा दारूको छाँकी चढाइसकेछि मटावाले गाउँका गर्ढुर्याहरुको कानमा जमरा र बेबरी लगाइदिने प्रचलन छ । त्यसपछि गर्ढुर्याहरूले बर्कीमार गीत गाउँदै मटावाको कानमा जमारा र बेबरी लगाइदिन्छन् ।

यसरी भुईह्यारथानमा कार्यसकेपछि नाच्दै बर्कीमार गीत गाउँदै मटावाको घरमा गँवल्या टीका लगाउँछौं, उनले भने “गँवल्या टीकामा हाम्रो सेतो टीका हुन्, सेतो टीका शान्तिको प्रतीक भएकाले थारू समुदायमा सेतो टीका लगाउने परम्परागतदेखि चल्दै आएको संस्कार नै हो ।”

उनको अनुसार दाङ, बाँके, बर्दिया, कैलाली, कंचनपुर र सुर्खेत जिल्लामा गँवल्या टीका लगाउने प्रचलन रहेको छ । यसैबिच आज गँवल्या टीका भएकोले दंगीशरण ३ हेकुलीका मटावा नारायण चौधरीले गँवल्या टीकाको सम्पूर्ण तयारी भएको बताए । “दिउँसो भुईह्यारथानमा पूजापाठ सकिएपछि गाउँका दाजुभाइहरू आउछन, उनले भने, त्यसपछि हामीले गँवल्या टीका लगाएर दशैको शुभ आशीर्वाद दिने र लिनेसंगै शुभकामना आदानप्रदान गर्छौ ।” गँवल्या टीकामा शुभसाइत हेर्ने चलन भने नरहेको मटावा चौधरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्