विपद् जोखिमप्रति सतर्क रहन मुख्यमन्त्री आचार्यको आह्वान – Buletnews
जोखिम न्यूनीकरणका लागि सबै पक्षलाई गम्भीर हुन आग्रह
विपद् जोखिमप्रति सतर्क रहन मुख्यमन्त्री आचार्यको आह्वान

साझा प्रयास र संयमित व्यवहारमार्फत मात्रै प्राकृतिक विपद्को सामना गर्न सकिने

  • बुलेट न्युज

बाँके : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्भावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद् जोखिमप्रति सतर्क रहन प्रदेशवासीलाई आह्वान गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशसहित देशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको चेतावनी जारी भएपछि मुख्यमन्त्री आचार्यले  सन्देश जारी गर्दै जोखिम न्यूनीकरणका लागि सबै पक्षलाई गम्भीर हुन आग्रह गरेका हुन् ।

मुख्यमन्त्री आचार्यका अनुसार पहाडी तथा हिमाली जिल्लामा पहिरोको उच्च जोखिम छ भने तराई क्षेत्रमा डुबान र कटानको समस्या आउन सक्छ । उनले यस्ता चुनौतीको सामना गर्न सुरक्षा निकाय पूर्ण तयारीमा रहेको जानकारी दिँदै सामुदायिक सहकार्य र जनस्तरको सक्रिय योगदान आवश्यक रहेको उल्लेख गरे ।

‘विपद् प्रतिकार्यमा सबैले आफ्नो भूमिका निर्वाह गर्ने, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्ने, रात्री समयमा सवारी साधन सञ्चान नगर्ने र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने कार्यले ठूलो क्षति रोक्न मद्दत गर्छ, सन्देशमा उल्लेख छ । उनले साझा प्रयास र संयमित व्यवहारमार्फत मात्रै प्राकृतिक विपद्को सामना गर्न सकिने भन्दै सबैलाई सतर्कता र धैर्य अपनाउन अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्