नेपालको कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात – Buletnews
नेपालको कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात
  • बुलेट न्युज

काठमाडौं: ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।

बुधबार अल अमेरतमै भएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भयो। नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट लिँदा कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट झारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको शानदार पारी खेले भने गुल्सन झाले ६ बलमा २० रन जोडे। दीपेन्द्रसिंह ऐरी २० र कप्तान राेहित पौडेलले १६ रन थपे।

कुवेतका बलर अनुदीप चन्दमार र नविनराज राजेन्द्रनले दुई–दुई विकेट हात पारे।

नेपाल अब शुक्रबार जापानविरुद्ध दोश्रो खेल खेल्नेछ। नौ टिम सहभागी प्रतियोगिताबाट सुपर–६ हुँदै शीर्ष तीन टिमले भारत–श्रीलंकामा हुने २०२६ टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्