बाँके: बाँकेका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ । नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष २०८१/८२ मा नमूना परीक्षण गर्दा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्यधिक फेला परेको प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिए ।
उनका अनुसार कैफियत पाइएका तरकारी बाँके जिल्लाकै उत्पादन हुन् । दश वटामध्ये नौ वटा रायो, माटे र सम्धिनीलगायत सागमा कैफियत पाइएको जनाउँदै उनले बोडीको नमूनामा पनि विषादीको मात्रा फेला परेको बताए । चैतमा तीन, वैशाखमा पाँच, जेठमा एक र असारमा एउटा नमुनामा कैफियत देखिएको थियो । दशवटै नमूना परीक्षण गर्दा रेडलेबल (उपभोग गर्न नमिल्ने) पाइएको चौधरीले बताए ।
प्रयोगशालामा भारतबाट आयातीत ४१३, सल्यानका २७३, बाँकेका ९६२, चितवनका ७९, सुर्खेतका १२, जुम्लाका एक, बर्दियाका ५३, रोल्पाका ११, दैलेखका दुई, रूपन्देहीका एक र दाङका ७६ नमूना परीक्षण गरिएको प्रयोगशालाका नायब प्राविधिक सहायक चौधरीले जानकारी दिए ।
‘तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षणमा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत भएमा त्यसलाई ‘ग्रीन लेबल’ (उपभोग गर्न मिल्ने), ३५ देखि ४५ प्रतिशत निषेध प्रतिशत पाइएमा त्यसलाई ‘यल्लो लेबल’ (चार–पाँच दिनसम्म क्वारेन्टिनमा राखेर पुनःपरीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत देखिएमा उपभोग गर्न मिल्ने) र ४५ प्रतिशतभन्दा माथि निषेध प्रतिशत देखिएमा त्यसलाई ‘रेडलेबल’ (उपभोग गर्न नमिल्ने) भनेर कैफियत लेखिन्छ’, चौधरीले भने ।











