बाँके: भेरी अस्पताल नेपालगन्जले मिर्गौलापीडितका लागि थप चार वटा डायलाइसिस मेसिन सञ्चालनमा ल्याएपछि बिरामीहरुलाई डायलाइसिसका लागि लामो समय पालो कुर्नुपर्ने समस्याबाट राहत मिलेको छ ।
नेपालगन्ज र आसपासका जिल्लाबाट दैनिक रूपमा आउने मिर्गौलापीडित बिरामीहरुको चाप बढ्दैजाँदा उपचारका लागि पालो पर्खनु पर्ने समस्या भइरहेको बेला अस्पतालमा डायलाइसिस मेसिन थपिंदा मिर्गौला रोगीहरुलाई ठुलो राहत मिलेको हो ।
यसअघि अस्पतालमा रहेका ६ वटा मेसिनमार्फत तीनवटा सिफ्टमा दैनिक १८ जनाको मात्र डायलाइसिस हुँदैआएको थियो । अब कुल १० वटा मेसिनमार्फत तीन सिफ्टमा दैनिक ३० जना बिरामीले सेवा लिन थालेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताए ।
उनले मेसिन थप भएपछि डायलाइसिस सेवामा देखिएको भिड र पालो कुर्नुपर्ने समस्या धेरै घटेको बताए । मेडिकल सुपरिटेन्डेन्ट डा. सुवेदीले भने– ‘बिरामीहरुले दिनौंदिन पालो पर्खनु पथ्र्यो । अहिले थप मेसिनले बिरामीलाई राहत दिएको छ । जसले धेरै जनाको समयमै उपचार सम्भव भएको छ । डायलाइसिसका लागि पालो नपाउँदा कतिपय बिरामीहरु महँगो रकम तिरेर निजी अस्पतालबाट सेवा लिन बाध्य थिए ।’
कोभिड महामारीको समयमा सञ्चालन गरिएको पुरानो आइसीयूलाई नयाँ भवनमा सारिएको र सोहीे ठाउँलाई प्रयोग गरी डायलाइसिस सेवा विस्तार गरिएको डा. सुवेदीले बताए।
चारवटा डायलाइसिस मेसिन थपिँदा भेरी अस्पताल प्रदेशमै मिर्गौला उपचारका लागि उत्कृष्ट अस्पताल बनेको जनाउँदै भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहले यसबाट बाँकेका मात्र नभएर बर्दिया, सुर्खेत, दाङ र कैलालीसम्मका बिरामीलाई राहत मिलेको बताए ।
अस्पतालले थप चारवटा मेसिन सञ्चालनमा ल्याएसँगै मिर्गौलारोगीको दैनिक उपचार क्षमतामा उल्लेख्य वृद्धि भएको अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालले बताए ।
डायलाइसिस विभागका पुराना बेडहरुको पनि मर्मत र सुधार गरेर सेवा गुणस्तरमा थप सुधार ल्याईएको जनाउँदै अस्पतालले डायलाइसिस वार्ड विस्तारसँगै एनआइसीयू (नवजात शिशु गहन उपचार इकाई) का बेडहरु पनि व्यवस्थित गरिएको अस्पतालका अधिकारीको भनाइ छ ।











