बाँके: बाँकेको खजुरा गाउँपालिकाले काम नगर्ने कम्पनीलाई कडाई गर्न थालेको छ । योजनाको ठेक्का पाएर पनि काम अलपत्र छोडेका कम्पनीहरुलाई गाउँपालिकाले कडाई गर्न थालेको हो ।
पालिकाले विभिन्न बहानामा काम पूरा नगरी अलपत्र छोडेर सम्पर्कविहीन भएका ठेकेदार तथा कम्पनीलाई ताकेता गर्न सुरु गरेको छ । प्रतिवद्धता गरेको समयमा काम नगरे गाउँपालिकाले सम्झौता रद्द गर्ने सम्मको योजना बनाएको बताउछन खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर पौडेल ।
गाउँपालिकाको विभिन्न क्षेत्रमा काम गर्ने जिम्मा पाएका करिब आधा दर्जनभन्दा बढि कम्पनीलाई गाउँपालिकाले ताकेता गरिरहेको छ । ताकेतामा जिम्मेवारी लिएका कम्पनी सम्पर्कमा नआउनुलाई कारवाही गर्ने योजना बनाएको थियो । गाउँपालिकामा काम अलपत्र छोडेका त्यस्ता सात वटा कम्पनी रहेका छन् ।
आफ्नो जिम्मेवारीलाई पूरा गर्नका लागि गाउँपालिका एक सूचना जारी गरेर सम्पर्कमा आउन ताकेता गरेको थियो । सो सूचनापछि हाल सम्पर्कविहीन भएका सबै ठेकेदार तथा कम्पनी गाउँपालिकाको सम्पर्कमा आएका छन् । ‘‘सूचनाजारी गरेर ताकेता गरेको थियौं,’’ गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले भने, ‘‘हाल सबै सम्पर्कमा आइसकेका छन ।’’
उनका अनुसार यसरी सम्पर्कमा आएका कतिपयले आफूले बिचमै अलपत्र छोडेको कामगर्न पनि सुरु गरेका छन् । यस्तै कतिपय कम्पनी तथा ठेकेदारले केही समयभित्र काम सुरु गर्ने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष बिकले बताए । ‘‘सम्पर्कमा आएकालाई कडाईका साथ काम गर्न भनेका छौं,’’ अध्यक्ष बिकले भने, ‘‘यदि अब पनि आफ्नो जिम्मेवारीका काम पूरा गरेनन भने नियमसँग कारवाही गर्नका लागि अघि बढ्छौं ।’’
ठेकेदार कम्पनीका कारण खजुराका विभिन्न ठाउँमा सात वटा योजना अलपत्र भएका थिए । जसका कारण स्थानीयवासीले समेत सास्ती खेप्न परेको छ । अलपत्र छाडिएका योजनाहरुमा ठेक्का नम्बर १८/२०७७/२०७८ को एनआइसी बैंकदेखि मनकामना जाने सडक तथा नालीनिर्माण, ठेक्का नम्बर १९/२०७७/२०७८ को गोपाल सिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तर उन्नती, ठेक्का नम्बर २४/२०७७/२०७८ को वडा नम्बर ४ ई गाउँ नेपाल राष्ट्रिय मनकामना आधारभूत निम्न माध्यमिक विद्यालयदेखि पूर्व एफगाउँ जाने बाटो कालोपत्रे, ठेक्का नम्बर २७/२०७७/०७८ को वडा नम्बर ३ बि गाउँ ९० नम्बरदेखि १०५ नम्बरसम्मको बाटो स्तरउन्नती, ठेक्का नम्बर २८/२०७७/२०७८ को वडा नम्बर ४ ई गाउँदेखि पूर्व एफगाउँजाने बाटो स्तर उन्नती, ठेक्का नम्बर ०६/२०७८/२०७९को ६ नम्बर वडा कार्यालय जाने बाटो स्तरउन्नती र ठेक्का नम्बर २७/२०७७/२०७८ को १५ शय्याको अस्पताल निर्माण रहेको थियो ।
लामो समय देखि योजना अलपत्र छाडेर काम सुरु नभए पछि गाउँपालिकाले कडाई गरेको हो । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले ताकेता गरिएपछि सबै कम्पनी सम्पर्कमा आएको जानकारी दिए। उनका अनुसार अस्पतल निर्माण कार्यको जिम्मा लिएको गौरा सिस्ने अमन जेभि नेपालगन्जले पुनर्निर्माणको कार्य सुरु गरेको छ ।
सात वटै योजनाको जिम्मा लिएका तीन वटा निर्माण कम्पनी मध्ये अमन कन्स्ट्रक्सन गुलरिया ५ बर्दियाले केही दिन भित्र कार्य सुरु गर्ने प्रतिबद्धता जनाएको छ भने प्रेम निर्माण सेवा गुलरिया नगरपालिका वडा नम्बर ४ ले गरेको कामको तथ्य जाँचको काम गर्न बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
‘‘प्रेम निर्माण सेवाले पाएको ६ नम्बर वडा कार्यालय जाने बाटो स्तरउन्नतीको कार्यअन्तर्गत आफुले योजना अनुसार काम गरिसकेको भए पनि पाउनु पर्ने रकम पाएको छैन भन्ने कुरा आएको छ,’’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, ‘‘यस सम्बन्धमा हामीले ईन्जिनियरलाई कार्यको नाप जाँच गर्न निर्देशन दिएका छौं ।’’ खजुराले वडा नम्बर ३ मा १५ शय्याको अस्पताल निर्माण गरिरहेको हो ।











