चितवन: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ। नारायणघाट–बुटवल सडक विस्तार गर्नुका साथै उक्त खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो।
सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले सोमबार सूचना जारी गर्दै दाउन्ने खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले सो कार्य सम्पन्न नहुञ्जेलसम्मका लागि एकतर्फी सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए। उनका अनुसार यस खण्डमा कल्भर्ट निर्माण तीव्र गतिमा भइरहेको छ।
निर्माण भइरहेकाले दुईतर्फी सवारी सञ्चालन गर्दा काम प्रभावित हुने भएकाले एकतर्फी मात्र सञ्चालन गर्न लागिएको हो। आयोजना निर्देशनालयका अनुसार आगामी पुस १५ गतेसम्मका लागि दाउन्ने खढड एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो।
दाउन्नेमा विगत केही दिनदेखि यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । केही दिनअघिको झरीका कारण सडक चिप्लो र हिलो हुँदा उकालोमा सवारी उक्लिन नसकेर यातायात सञ्चालनमा समस्या हुँदै आएको प्रहरी उपरीक्षक खड्काले बताए।
सडक अवरोध भएको अवस्थामा सवारीसाधन नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल वा गैँडाकोट कालीगण्डकी चोक–रामपुर–पीपलडाँडा–पाल्पा–बुटवल तथा मोटरसाइकल तथा साना चारपाङ्ग्रे सवारीले दुम्किबास–डाँडाजोर–डमार हुँदै भुताहाको मार्ग प्रयोग गर्न सक्ने प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।
नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु भएदेखि दाउन्ने खण्डको यात्रा कष्टकर हुँदै आएको छ। अन्य क्षेत्रमा सडक विस्तारको काममा प्रगति भए पनि दाउन्ने क्षेत्रमा पहाड काट्ने, नाला तथा कल्भर्ट निर्माणमा ढिलासुस्ती हुँदा आवागमन समस्या हुनुका साथै यात्रुले सास्ती खेप्दै आएका छन्।











