बाँकेमा अमेरिका पठाइदिन्छु भन्दै ठगी: ठग समूहविरुद्ध मुद्दा, पीडितले गरे आत्महत्या – Buletnews
बाँकेमा अमेरिका पठाइदिन्छु भन्दै ठगी: ठग समूहविरुद्ध मुद्दा, पीडितले गरे आत्महत्या

रुकुम र अदालतले उनीहरूलाई  सामान्य धरौटीमा रिहा गरेको भन्दै परिवार आक्रोशित

  • बुलेट न्युज

बाँके: अमेरिका पठाइदिन्छु भन्दै रकम असुली गर्ने गिरोहको ठगीबाट पीडित बनेका बाँके राप्ती सोनारी गाउँपालिका–९ उदैनढकेरीका ३४ वर्षीय भूपेन्द्र ओलीले आत्महत्या गरेका छन्।

प्रहरीका अनुसार ओली आफ्नै घरको गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। परिवारजनका भनाइ अनुसार, भूपेन्द्र लाइ विदेश पठाइदिन्छु भन्ने आश्वासनमा ठग समूहलाई लाखौँ रुपैयाँ दिएका थिए। रकम फिर्ता नपाएपछि उनी गहिरो तनावमा परेका थिए।

परिवारले आरोप लगाएको छ कि उक्त ठगीमा संलग्न व्यक्ति सविता बोहरा लगायतका समूहमाथि रुकुम जिल्ला अदालतमा चेक अनादर (बैंकिङ कसुर) मुद्दा दर्ता भएको थियो। तर, ती अभियुक्तहरू फरार रहेको अवस्थामा पनि जिल्ला प्रहरी कार्यालय रुकुम र अदालतले उनीहरूलाई  सामान्य धरौटीमा रिहा गरेको भन्दै परिवार आक्रोशित भएको छ।

परिवारका सदस्यहरूले भने, “हामीले प्रहरी र अदालत दुवैमा न्यायको अपेक्षा गरेका थियौं, तर ठगलाई सजाय नदिई सामान्य धरौटीमा छाडेपछि उहाँ निराश हुनुभयो। पैसाको आशमै उहाँले जीवन समाप्त गर्नुभयो।”

घटनाबारे इलाका प्रहरी कार्यालय कोहलपुरले अनुसन्धान अघि बढाएको जनाएको छ। शव परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्