काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा मुलुकमा घृणा र द्वेष फैलाउने काम गरिरहेको आरोप लगाएका छन्।
शनिवार काठमाडौंमा पार्टीद्वारा आयोजित जनप्रदर्शन तथा जनसभामा बोल्दै उनले सरकारले काम गर्न नसकेको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको दाबी गरे। सरकारले ‘जेनजी’ का नाममा केही व्यक्तिहरूलाई सक्रिय गराई सामाजिक अराजकता निम्त्याउने प्रयास गरिरहेको आरोप पनि उनले लगाए।
अध्यक्ष ओलीले भने, “काम गर्न नसक्ने, भ्रष्टाचारमा लसक्क डुबेको यो नक्कली सरकारले ‘जेनजी’ का नाममा केही मानिसहरूलाई बोलाएर, आफैंले तयार पारेका मागहरू प्रस्तुत गराएर, आफैंविरुद्ध दबाब सिर्जना गर्ने वातावरण बनाउन तालिम दिएर सुशासनका नाममा घृणा र द्वेष फैलाउने काम गरिरहेको छ।”
अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसको विरोध गर्नु प्राकृतिक रहेको पनि अघि सारे।











