राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पुलको निर्माण ५० प्रतिशत पूरा – Buletnews
राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पुलको निर्माण ५० प्रतिशत पूरा

सम्झौता प्रक्रियामा करिब एक वर्ष डिजाइनमा खर्चिनु परे पनि अहिले काम तीव्र गतिमा

  • बुलेट न्युज

बाँके:बाँकेको बघौडा हुलाकी सडक अन्तर्गत राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पुलको निर्माण ५० प्रतिशत पूरा भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार पुल निर्माणको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी भइसकेको छ । सम्झौता प्रक्रियामा करिब एक वर्ष डिजाइनमा खर्चिनु परे पनि अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले आगामी असारभित्र पुल तयार पार्ने लक्ष्य राखिएको जानकारी दिए ।

एक अर्ब १९ करोड रुपियाँको लागतमा निर्माण भइरहेको सो पक्की पुलको काम तीव्र गतिमा अघि बढेको जनाउँदै योजना कार्यालयका प्रमुख भण्डारीले बहुप्रतिक्षित यो पुलको निर्माणमा यस क्षेत्रका अधिकांश जनताको चासो रहेको बताए ।

हाल निर्माण भइरहेको ११ मिटर चौडाइको दुई लेन पुल तयार भएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दाले दशकौँदेखि भोग्दै आएको आवागमन समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले हालका साँघुरा पुलका कारण सवारीसाधनले पालो कुर्नु परेर नदी पार गर्नुपर्ने बाध्यता स्थानीयको प्रमुख समस्या बनेको जनाउँदै नयाँ संरचना निर्माणपछि सो समस्या हट्ने विश्वास व्यक्त गरे।

राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारूले पुल निर्माणको काम धमाधम भइरहेकाले अब चाँडै सहज यात्रा गर्न पाउने अवस्था बन्दै गएको बताए । उनका अनुसार सिधनियाघाटमा करिब १५ वर्षअघि बनेको पुल साँघुरो भएपछि स्थानीयको माग अनुसार नयाँ संरचना निर्माण थालिएको हो ।

२०७९ माघ १० गते तत्कालीन भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा बजेट छुट्याइएपछि लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौँसँग ५३ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्