बाँके: खोलालाई स्वच्छ, सफा र वातावरणमैत्री बनाउने उद्देश्यसहित डुडुवा खोला सरसफाइ अभियान संचालन गरिएको छ।
कोहलपुर शहरको जीवनधारा मानिने डुडुवा खोला संरक्षण गर्न स्थानीय समाजसेवी तथा युवाहरुको सक्रियतामा सुरु गरिएको यो अभियान प्रत्येक शनिबार बिहान १ घण्टा निरन्तर चलिरहेको छ।
मंसिर ६ गतेदेखि सुरु भएको सरसफाइ अभियानको नेतृत्व समाजसेवी युवा भुम भण्डारीले गरेका छन्। उनले डुडुवा खोला केवल पानी बग्ने स्थान मात्र नभई भविष्यका सन्तानका लागि महत्वपूर्ण जलस्रोतको आधार भएकाले यसलाई प्रदूषणमुक्त बनाउनु सबैको सामूहिक जिम्मेवारी भएको बताए।
कोहलपुर–१२ मसुरीखेतदेखि कोहलपुर–१० बन्दा क्षेत्रसम्म फैलिएको यो अभियानमा खोलामा फालिएका फोहोर, प्लास्टिक, बोटल, थैली तथा अन्य प्रदूषणकारी सामग्री हटाउने कार्यलाई विशेष प्राथमिकता दिइएको छ।
अभियन्ता भुम भण्डारीले खोला सफाइ केवल वातावरण संरक्षणको कार्य मात्र नभई जनस्वास्थ्य र सामुदायिक चेतनासँग जोडिएको विषय भएको उल्लेख गर्दै भने, “डुडुवा खोला हाम्रो जीवनको आधार हो। यसलाई स्वच्छ राख्नु हामी सबैको कर्तव्य हो। यो अभियान निरन्तर जारी रहनेछ।”
अभियानको सुरुवातमा युवा शंकर न्यौपाने, युवराज पोखरेल, दिनेश उपाध्याय र भुम भण्डारी गरी चार जना सहभागी थिए। हाल ३ जना थपिएर सहभागी संख्या ७ जना पुगेको छ। भण्डारीले विश्वास व्यक्त गर्दै, अभियानमा समुदायको सहभागिता बढ्दै गए आगामी दिनमा ७०–८० जनासम्म स्वतःस्फूर्त सहभागी हुने अपेक्षा छ। उनले भने, “सामुदायिक चेतना र युवाहरूको सक्रियताले यो अभियान अझ प्रभावकारी बन्नेछ। डुडुवा खोलालाई प्रदूषणमुक्त र स्वच्छ बनाउने हाम्रो प्रयास निरन्तर जारी रहनेछ।”
सामाजिक अभियन्ता शंकर न्यौपानेले वातावरण संरक्षणमा युवाहरूको सक्रियता प्रेरणादायी भएको बताउँदै भने, “खोला सफा राख्नु हाम्रो भविष्यका लागि अपरिहार्य छ। यस्तो काममा सहभागी हुन पाउँदा खुशी लागेको छ।”
युवा अभियन्ता युवराज पोखरेलका अनुसार भुम भण्डारीको पहलले स्थानीय समुदायमा वातावरणीय चेतना अझ बढाएको छ। “यस अभियानले सम्पूर्ण समुदायलाई प्रेरित गरेको छ। निरन्तर साथ आवश्यक छ,” उनले भने।
फोटो पत्रकार विजय परियारले डुडुवा खोलाको प्रदूषणले जनस्वास्थ्यमा पार्ने असर विशेष संवेदनशील रहेको बताउँदै संचारकर्मीको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गरे।
“यो अभियानले डुडुवा खोलालाई भविष्यमा प्रदूषणमुक्त, स्वच्छ जलस्रोत र हराभरा किनारासहितको वातावरणमैत्री सम्पदा बनाउने लक्ष्य लिएको छ,” उनले जोड दिए। उनका अनुसार स्थानीय अगुवाको सक्रियता र जनसहभागिताले वातावरण संरक्षणको नयाँ सन्देश प्रवाह गरेको छ।
नियमित सरसफाइ र स्थानीय सहभागिता बढ्दै गए डुडुवा खोलालाई पहिलेकै प्राकृतिक सुन्दरता र स्वरूपमा फर्काउन सकिने विश्वास अभियन्ताहरूले व्यक्त गरेका छन्।











