बाँके: बाँकेमा पार्टी प्रतिनिधि छनोटमा सकस देखिएको छ । स्थानीय पार्टी नेतृत्वले मनपरि गर्दा सकस भएको दावी सम्बद्धको छ । ‘निर्वाचन प्रक्रियानै शुरु नगरिएकाकारण समस्या भएको हो,’ एमाले बाँकेका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले भनेका छन, ‘लोकतान्त्रिक विधि प्रक्रिया विपरित कसरी हाम्रो पार्टी सबल हुन सक्छ ?’
एमाले केन्द्रीय सदस्य सुर्य ढकालका अनुसार, बाँकेका तीन वटै क्षेत्रमा सर्वसम्मत प्रतिनिधि छनोट भएको छ । तर, त्यसको प्रतिवाद गर्दै कक्षपति भन्छन्, निर्वाचन प्रक्रियानै शुरु हुन सकेको छैन । ढकालले भने आवश्यक प्रक्रियाबाटै प्रतिनिधि छनोट भएको बताए । त्यसबारे बुझ्न पार्टी केन्द्रीय प्रतिनिधि जीवन गौतमसँग कुरा गर्न गरिएको प्रयास सफल हुन सकेन ।

ढकालका अनुसार, बाँके क्षेत्र नम्बर १ बाट बसन्ती अधिकारी, सुधा थारु, बलराम भट्टराई, कुस्माखर बस्याल, खेमराज शर्मा सर्वसम्मत भए । क्षेत्र नम्बर २ मा निरक गुरुङ, हलिम शाह, हिरा खरेल, मोहित शाह तथा क्षेत्र नम्बर ३ मा मानबहादुर रुचाल, रत्न खत्री, एक माया बिक, भूमिसरा धिताल, बिमल मल्ल निर्वाचित भएको ढकालले बताएका छन् ।
तर, तीन वटै क्षेत्रमा विवाद रहेको दाबी एमाले नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान नगर अध्यक्ष दत्त प्रसाद आचार्यको छ । उनका अनुसार, निर्वाचन प्रक्रिया सुरु गर्न क्षेत्र नं. २ का १६ जना दाबेदारले लिखित उजुरी समेत दिएकाले पार्टी केन्द्र र संगठन विभागबाट आवश्यक कारवाही गर्ने विश्वास गरिएको छ । ‘निर्वाचनमा जान आँट नगर्नेहरू आ–आफै पद बाँढेर सूचि सार्वजनिक गरेका हुन्’, शनिबार अबेर साँझसम्म पार्टी कार्यालयमा निर्वाचनको कुनै प्रक्रिया अगाडि बढ्न नसकेको दाबी गर्दै प्रतिनिधि दाबेदार ऐन बहादुर हमाल भन्छन्, ‘पार्टी संगठनलाई कमजोर बनाउने गरी निश्चित गुटले एकलौटी गर्न खोजेको छ ।’
एमालेका अर्का नेता अशोक कर्माचार्यले सार्वजनिक रूपमै बाँके क्षेत्र नं. २ र ३ मा प्रतिनिधि छनोट प्रक्रिया मनोमानी ढंगले गरिएको भन्दै आपत्ति जनाएका छन् । ‘निर्वाचन प्रक्रिया प्रारम्भ नै नगरी सार्वभौम संगठित सदस्यहरूको चुन्न र चुनिन पाउने अधिकारलाई जबर्जस्ती खोसेर
आ–आफ्ना नजिकका मानिसहरूको नामलाई सर्वसम्मत भनि विधि विपरित घोषणा गरिएको’ दाबी कर्माचार्यको छ ।











