बाँके: लामो समयदेखि अलपत्र बनेको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको डुडुवा नहरको निर्माण कार्य पुनः सुरु भएर तीव्र गतिमा अगाडि बढेको छ । आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर करिब ४६ किलोमिटर लामो डुडुवा शाखा नहर निर्माणका लागि आयोजनाले दुई वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।
पहिलो प्याकेजमा मूल नहरबाट डुडुवा शाखा नहरमा पानी झार्न आवश्यक पर्ने संरचनासहित जानकी गाउँपालिकाको पिप्रहवा चोक हुँदै राँझा विमानस्थलसम्म छ किलोमिटर शाखा नहरका साथै पिप्रहवा चोकबाट खजुरासम्म १० किलोमिटर र राँझा विमानस्थलदेखि मानपुरसम्म आठ किलोमिटर नहर निर्माण हुने छ । पहिलो प्योकजबाट जानकी र खजुरा क्षेत्रको सात हजार २७१ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्ने छ ।
आयोजनाका अनुसार दोस्रो प्याकेजमा राँझा विमानस्थलदेखि पूर्व–दक्षिणतर्फ पर्ने हिरमिनिया क्षेत्रसम्मको १८ किलोमिटर नहर निर्माण हुने छ । सो काम पूरा गरिएपछि उक्त क्षेत्रका आठ हजार ७८३ हेक्टरमा सिँचाइ सुविधा पुग्ने छ ।
दोस्रो प्याकेजको तीन वर्षे योजना अनुसार हाल सुरु गरिएको डुडुवा नहरको निर्माण कार्य रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले एक अर्ब १२ करोडभन्दा बढीको लागतमा गरिरहेको छ । सिक्टा सिँचाइ आयोजना कार्यालयका इन्जिनियर नवीन पौडेलले उक्त योजना अन्तर्गत १८ किलोमिटर नहर मर्मत तथा पुनः निर्माण गरिने बताए।
उनले वर्तमान ठेक्का ‘तीन वर्षे योजना’ अनुसार समयमै सम्पन्न गरिने जनाउँदै डुडुवा नहरको मुख्य संरचना, ढलान, बाँध, शाखा–उपशाखा सुधार हुँदै निर्माण पूरा भएपछि नियमित नहरमा पानी प्रवाह हुने बताए ।
दुवै प्याकेजको काम पूरा भई डुडुवा नहर सञ्चालनमा आएपछि सो क्षेत्रका करिब १६ हजार हेक्टर खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने आयोजनाले जनाएको छ ।
स्थानीय किसान नहर निर्माणपछि विशेष गरी धान, गहुँ र मकै खेतीको उत्पादन वृद्धि हुनेमा आशावादी छन् । नेपालगन्ज–२२ का वडाध्यक्ष अब्दुल गफ्फार हलवाईले लामो समयदेखि ‘पानी अभाव’ सहँदै आएका डुडुवा, खजुरा नेपालगन्ज र जानकी क्षेत्रका किसानको समस्या अब समाधान हुने विश्वास गरिएको बताए। उनले आफ्नो वडाबाट बग्ने सो नहर निर्माणपछि बाहै्र महिना किसानले तरकारीलगायतका विभिन्न खेती गर्न पाउने हुँदा किसान उत्साहित भएको बताए।
डुडुवा नहर निर्माणको पहिलो ठेक्का सम्झौता २०७३ साल असार १२ गते गरिएको थियो । उक्त सम्झौता अनुसार ९८ करोड ८१ लाखको लागतमा नहर निर्माण २०७५ साल पुस ४ गतेभित्र सक्ने योजना थियो तर निर्माण व्यवसायी र आयोजनाबिच विवाद उत्पन्न भएपछि २०७४ साल चैत २८ देखि निर्माण पूर्ण रूपमा रोकिएको थियो ।











