बैजनाथमा भब्य रुपमा शुरु भयो प्रथम चिसापानी महोत्सब – Buletnews
बैजनाथमा भब्य रुपमा शुरु भयो प्रथम चिसापानी महोत्सब

समारोहमा स्थानीय कला–संस्कृति झल्काउने विविध झाँकी तथा नृत्य प्रस्तुति

  • बुलेट न्युज

बैजनाथ,बाँके:  प्रथम बैजनाथ कृषि तथा व्यापार–पर्यटन प्रवर्द्धन महोत्सव–२०८२ शुक्रबार बैजनाथ–१ चिसापानीमा भब्य रूपमा सुरु भएको छ। मेला व्यवस्थापन समिति संयोजक तथा सभाध्यक्ष नरेश भामको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई वडा अध्यक्ष रुपबहादुर मल्लले पानसमा दियो बालेर उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्था, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–विद्यार्थी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। महोत्सव मूल आयोजक समितिका आर्थिक संयोजक टोपबहादुर मल्लका अनुसार चिसापानीको सामाजिक, सांस्कृतिक र आर्थिक सम्भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

उद्घाटन समारोहमा स्थानीय कला–संस्कृति झल्काउने विविध झाँकी तथा नृत्य प्रस्तुति गरिएको थियो। पन्चै बाजा, नौमती बाजा, मगर नाच, थारु नृत्य, देउडा नाचलगायत सांस्कृतिक कार्यक्रमले वातावरण झनै रंगीन बनेको थियो।

शिव मन्दिरबाट सुरु गरिएको रैली सुर्योदय माध्यमिक विद्यालय हुँदै महादेव मन्दिर, चिसापानी बजार र पूर्ण गाउँ परिक्रमा गरी महोत्सव स्थलमा प्रवेश गरेको थियो। रैलीमा सुर्योदय मावी, दीपज्योति मावी, भृकुटी मावी, स्काईल्यान्ड, क्रियटिभ स्कलर एकेडेमी, जनजागरण आबि, देउडा सांस्कृतिक संरक्षण नेपाल, च्यामा थारु नृत्य समूह, मगर संघ पितमारी तथा चिसापानीको पन्चै बाजाले आकर्षक प्रस्तुति दिएका थिए।

महोत्सव आगामी पुस ६ गतेसम्म संचालन गरिनेछ। शनिबारको मुख्य आकर्षण बहुचर्चित कलाकार एम.टी. महरको विशेष प्रस्तुति रहनेछ भने स्थानीय मोडेल–नृत्याङ्गना तथा चर्चित पत्रकार एवं उद्घोषक कुशल दलामीले कार्यक्रम सञ्चालन गर्ने जानकारी आयोजकले दिएको छ।

प्रतिक्रिया दिनुहोस्