काठमाडौं: नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश अध्यक्ष केपी ओली पक्षका उम्मेदवार विजयी भएका छन् । एमाले अध्यक्षमा केपी शर्मा ओली भारी अन्तरालले विजयी भए । उनका प्रतिस्पर्धी ईश्वर पोखरेललाई अपेक्षित मत आएन । महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतले विजयी भएका छन् ।
संस्थापन इतर वा ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईले जितेका छन् । १९ सदस्यिय पदाधिकारीमा १७ जना संस्थापन पक्षका छन् ।
उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
महासचिव : शंकर पोखरेल
उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल
एमाले पदाधिकारीमा ओली नै सबैभन्दा जेठा, महेश कान्छा
नेकपा एमालेको नयाँ नेतृत्व पङ्तिमा अध्यक्ष केपी शर्मा ओली उमेरले पनि सबैभन्दा जेठा रहेका छन् । उनी ७४ वर्षका भए । ओलीका प्रतिस्पर्धी ईश्वर पोखरेल ७२ वर्षका हुन् । महासचिवका दुई प्रतिस्पर्धीहरू भने तुलनात्मकरूपमा कम उमेरका थिए । ६३ वर्षीय शंकर पोखरेल विजयी बन्दा ६७ वर्षीय सुरेन्द्र पाण्डे पराजित भए ।
एमालेको नयाँ पदाधिकारी टीममा अधिकांश ६० वर्षभन्दा माथिकै नेताहरूको बाहुल्यता छ । १९ सदस्यीय पदाधिकारीमध्ये ५ जनामात्रै ६० वर्षभन्दा कम उमेरका छन् । जसमध्ये सबैभन्दा कान्छा महेश बस्नेत हुन् । ५१ वर्षीय बस्नेत सचिवमा निर्वाचित भएका छन् ।
नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीसहितको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा सबैभन्दा कम उमेरका २ जना युवा महिलाले जितेका छन् । ३० वर्षमुनिका अस्मिता थापा र एलिसा गौतम लोकप्रिय मतसहित निर्वाचित भएका हुन् ।
दुवैजना खुला महिला क्लस्टरबाट उम्मेदवार भएकामा थापाले सर्वाधिक १८५९ मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । गौतमले १८१२ मत ल्याएर विजयी भएकी हुन् ।अस्मिता थापा ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष समेत हुन् भने एलिसा इन्जिनियर हुन् । यसअघि सोही उमेर समूहका रौनित साह निर्विरोध भइसकेका थिए ।

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा अत्यधिक मतले विजयी
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमालेको केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भएकी छन् । हालै भएको महाधिवेशनमा चुनावी प्रतिस्पर्धा गर्दै उनी विजयी भएकी हुन् ।सुनिताले राजधानी विशेषमा ४० वर्षमुनिको कोटामा उम्मेदवारी दिएकी थिइन् । यो कोटामा एक जना केन्द्रीय सदस्य आरक्षित गरिएको छ । जसमा दुई प्रतिस्पर्धीलाई अत्यधिक मतले पछि पारिन् । उनले १६६८ भोट ल्याएकी छन् । उनका दुई प्रतिस्पर्धी ईं राजन थापा र सन्तोष खड्काले क्रमशः २२९ र ३३० मत ल्याए ।
सुनिताले स्थानीय निर्वाचनमा काठमाडौं महानगरबाट मेयरमा स्वतन्त्र लड्ने तयारी गरेकी थिइन् । पछि उनलाई एमालेले उपमेयरको टिकट दियो । उनी अत्यधिक मतका साथ उपमेयरमा विजयी बनिन् । त्यसयता उनी एमालेकै सक्रिय छिन् ।
गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
नेकपा एमालेका नेता गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्। केपी ओली प्यानलबाट पदाधिकारीमा हारेका यी दुवै नेता केन्द्रीय सदस्यमा समेत पराजित भएका हुन्। बराल उपाध्यक्ष र रिमाल उपमहासचिवमा हारेका थिए। केन्द्रीय सदस्यमा बरालले ७५४ र रिमालले ६३० मत मात्रै पाए।










