आजबाट वैदिक वर्ष ५०९१ शुरु – Buletnews
आजबाट वैदिक वर्ष ५०९१ शुरु

स्वाद्ध्यायशालाले १५ वर्षदेखि वैदिक कालगणनामा आधारित वैदिक पात्रो प्रकाशन गर्दै

  • बुलेट न्युज

बाँके : वैदिक वर्ष ५०९१ लागको छ। मूल वैदिक परम्पराका अनुयायीले तपः महिनाको शुक्लपक्षको प्रतिपदामा नयाँ वर्ष मनाउने गरेका छन्। त्यसैअनुरूप यो पटक पौषशुक्ल प्रतिपदामा वैदिक नववर्ष परेको हो।

सौरमानले उत्तरायणको आरम्भ सबैभन्दा छोटो दिन पुस ६ गते (२१ डिसेम्बर) मा  हुने र वैदिक कालगणनामा त्यसको नजिकको शुक्लपक्षको प्रतिपदामा नयाँ वर्ष शुरु हुने ‘वैदिक तिथिपत्रम्’का सम्पादक प्राडा प्रमोदवर्धन कौण्डिन्न्यायनले जानकारी दिए।

सौरचान्द्र उत्तरायण शिशिर ऋतु प्रारम्भ हुने दिन वैदिक नववर्ष मनाइन्छ। शनिबार पाँच वर्षे युगको प्रथम वर्ष संवत्सर तथा आश्विन नामक वर्ष आरम्भको दिन भएको छ। ‘यो वर्ष संवत्सरमात्र होइन पाँच वर्षे युग पनि परिवर्तन भएको मानिन्छ। दशौँ ऐन्द्राग्न युग सकिएर एघारौँ आश्विन युग लागेको पनि लागेको छ’, कौण्डिन्न्यायनले भने।

वैदिक परम्परामा नयाँ वर्षको आरम्भकै आसपास ल्होसार र माघी जस्ता नयाँ वर्ष मनाइन्छ। शिशिर ऋतु आसपास नयाँवर्ष मनाउने चलन वैदिक कालगणना सिद्धान्तसँग सम्बन्धित रहेको बताइन्छ।

बूढानीलकण्ठ नगरपालिका-६ हात्तीगौँडा ब्रह्मपुरीमा रहेको स्वाद्ध्यायशालाले  विगत ३० वर्षदेखि वैदिक गणनापद्धतिका विषयमा प्रचारप्रसार गर्दै आएको कौण्डिन्न्यायनले जानकारी दिए। स्वाद्ध्यायशालाले १५ वर्षदेखि वैदिक कालगणनामा आधारित वैदिक पात्रो प्रकाशन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्