बाँके: लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको विशेष सूचना पाएर गएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले २२ ग्राम ७१० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज-१४ का २३ वर्षीय सन्दीप लोनिया, सोही स्थानकै ३१ वर्षीय हृदयराम खटिक र नेपालगन्ज-१८ का २२ वर्षीय ओमकर खटिक रहेका छन् । खैरो हेरोइनको कारोबार गर्न जाँदै गरेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई नेपालगन्ज-१३ मोहनपुर्वा गाउँ नजिकबाट उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।
पक्राउ परेका उनीहरुको साथबाट तीन थान मोबाइल र एक थान डिजिटल तराजु समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका पक्राउ परेका उनीहरूविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको छ ।











