बाँके: राप्तीसोनारी गाउँपालिका –२, मदुईका उदयाराम पुनले कालिज पालनबाट वार्षिक ३० लाख रुपियाँभन्दा बढीको कारोबार गरेर गाउँमै बसेर विदेशभन्दा धेरै बढी पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गरेका छन ।
पाँच वर्षअघि २०० वटा कालिजबाट व्यवसाय सुरु गरेका पुनसँग अहिले एक हजार ५०० भन्दा बढी कालिज छन् । उनले गत वर्ष करिब ३० लाख रुपियाँको कारोबार गरेको जनाउँदै यस वर्ष सो वृद्धि भएर ३५ देखि ४० लाख रुपियाँसम्मको कारोबार हुने आशा गरिएको बताए ।
पटक–पटक विदेश जान खोज्दा दलालको ठगी र रकम अभावले जान नसकेपछि वैदेशिक रोजगारीको विकल्प खोज्दै गाउँमै कालिज पालन व्यवसाय सुरु गरेका पुनले कालिज पालनबाट सोचेभन्दा राम्रो आम्दानी भइरहेको बताए। उनका अनुसार कालिजको माग अत्यधिक रहेको हुँदा माग बढेसँगै उत्पादन बढाउँदै लगिएको छ ।
व्यवसायको सुरुवाती चरणमा निकै समस्या झेल्नुपरेको पुनको अनुभव छ । पहिलो पटक दाङबाट ल्याइएका २०० चल्लामध्ये १५० भन्दा बढी मरेपछि हिम्मत नहारेर सिक्दै अघि बढेर यहाँसम्म पुगेको उनको भनाई छ ।
दुई कठ्ठा जग्गामा व्यवस्थित फार्म सञ्चालन गर्दै आएका पुनले आफ्नै ह्याचरी मेसिनसमेत जडान गरेका छन । उनले आफ्नै फार्ममा उत्पादन भएका कालिजका चल्ला बाँके र बर्दियालगायत कर्णाली प्रदेशका सुर्खेत, कालीकोट, जुम्ला र दैलेखसम्म पठाइरहेका छन ।
पुनका अनुसार एक दिनको चल्ला प्रतिगोटा २५० रुपियाँमा बिक्री हुनेगरेको छ । भाले कालिज दुई हजार ५०० र पोथी कालिज एक हजार २५० रुपियाँ किलोमा बिक्री भइरहेको छ । बाँकेका होटलमा कालिजको मासु विशेष परिकारका रूपमा लोकप्रिय बन्दै गएपछि माग बढेको जनाइएको छ ।
हाल पुनले ८० पोथी र २५ भाले बीउका लागि छुट्टै राखेको बताउँदै आउँदो फागुनदेखि थप चार कठ्ठा जग्गामा व्यवसाय विस्तार गर्ने तयारी गरिरहेको उनले बताए ।
सोही प्रकारले कालिज पालनमा कोहलपुरकी सरिता थापाजस्ता अन्य उद्यमी पनि संलग्न रहेका छन । उनिसँग हाल ५०० कालिज बिक्रीका लागि तयार रहेको थापाले बताईन । जाडोको मौसममा कालिजको माग अत्यधिक हुने गरेको उनको अनुभव छ।
व्यवसायमा संलग्न कृषकहरुका अनुसार बाँकेमा कालिज पालन वैकल्पिक आयआर्जनको माध्यमका रूपमा विकसित हुँदैगएको छ ।











