नेपालगन्जमा फेरि बढ्न थाले चोरिका घटना – Buletnews
नेपालगन्जमा फेरि बढ्न थाले चोरिका घटना

विशेषतः चोरहरुले पसलहरुमा चोरी गर्न थालेका छन

  • बुलेट न्युज

बाँके:  बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जमा फेरि चोरीका घटना बढ्न थालेका छन् । केही महिना अघि व्यापकरुपमा चोरीका घटना हुने गरेको थियो । प्रहरी सक्रियतापछि चोरीका घटनामा कमी आए पनि चिसोको मौका छोपेर पछिल्लो केही दिन यता फेरि चोरीका घटना बढ्न थालेका छन् । विशेषतः चोरहरुले पसलहरुमा चोरी गर्न थालेका छन् ।

चोरीको पछिल्लो घटनामा गएराति नेपालगञ्ज वडा नम्बर १३ बुलबुलिया शान्तिनगरस्थित दुई पसलमा एकै समयमा चोरी भएको छ । सो वडामा रहेको नीलसागर आश्रमको ठिक अगाडिको सरिया, सिमेन्ट र पेन्ट पसल, रक्सी पसलमा चोरी भएको छ । चोरहरुले उक्त पसलहरुवाट नगद तथा जिन्सी सामानहरु चोरेर लगेका छन् । आज बिहान आठ बजे पसल खोल्ने क्रममा सटर तोडिएको देखिएपछि चोरी भएको थाहा भएको थियो । तत्काल प्रहरीलाई खबर गर्दा ढिलो गरी डेढ घण्टापछि मात्र प्रहरी पुगेकोमा स्थानीयहरुले गुनासो पोखेका छन् ।

यो वडाको यस क्षेत्रमा पटक-पटक चोरीका घटना घटिरहेको अवस्थामा समेत प्रहरीको उपस्थिति यहाँ शून्य प्रायः हुने गरेको स्थानीयहरु बताउँछन् । ‘प्रहरीले यो क्षेत्रलाई पूर्णरुपमा उपेक्षा गरेको मात्र हैन, यहाँ प्रहरीको छायाँ पनि परेको देखिँदैन’-एक स्थानीयको गुनासो थियो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले उक्त क्षेत्रलाई ‘शान्त’ क्षेत्रका रुपमा लिएकाले पनि प्रहरी गस्ती हुन नसकेको स्विकारे । उनको थप भनाई थियो,‘अर्कोतर्फ, प्रहरी संख्या प्रशस्त हुँदा समेत सवारी साधनको अभावमा प्रहरी गस्ती बढाउन नसकिएको हो ।’

प्रतिक्रिया दिनुहोस्