नेपालगञ्ज: अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चितताका लागि लुम्विनी प्रदेश सभा सदस्यहरुले प्रतिवद्धता जनाएका छन् । परिवार नियोजन संघ बाँकेले आज नेपालगन्जमा आयोजना गरेको प्रदेश स्तरीय कार्यशालामा सहभागी प्रदेश सभा सदस्यहरुले संविधानले नै प्रजनन स्वास्थ्य अधिकारलाई ग्यारेन्टी गरेकाले अपाङ्गता भएका व्यक्तिहरुले पनि त्यसको अनुभूति गर्नुपर्नेमा आफूहरु प्रतिवद्ध रहेको बताए ।
लुम्विनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री भण्डारीलाल यादवले अपाङ्गता भएका व्यक्तिहरुको प्रजनन स्वास्थ्यको अधिकारलाई मात्र नभएर आर्थिक र सामाजिक अधिकारलाई पनि कार्यान्वयन गर्ने सवालमा आफू प्रतिवद्ध रहेको बताए । उनले आगामी बजेटमा यौन तथा प्रजनन अधिकारका सवालमा सचेतना अभिवृद्धिका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता पनि जनाए ।
यस्तै अर्का लुम्विनी प्रदेश सभा सदस्य मिना सिद्दिकीले पनि अपाङ्गता भएका व्यक्तिहरुले यौन तथा प्रजनन अधिकार प्राप्त गर्न नसकेको बताइन् । उनले अपाङ्गता भएका महिलाहरु यसमा झनै पीडित रहेको बताइन् । उनले स्वास्थ्यकर्मीहरुलाई समेत यसमा सचेत पार्न जरुरी रहेको बताइन् । सिद्दिकीले अपाङ्गता भएका महिलाले पनि स्वास्थ्यकर्मीहरुको परामर्शमा बच्चाबच्ची जन्माउन सक्छन् भन्ने सन्देश फैलाउन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघका पूर्व केन्द्रीय सदस्य रोशन श्रेष्ठ, नेपाल प्रेस युनियनका अध्यक्ष प्रियास्मृति ढकाल, अपाङ्गता अधिकारकर्मी भावुकजंग थापा लगायतले बोलेको संघका बाँके प्रवन्ध निर्देशक रश्मी श्रेष्ठले जानकारी दिइन् ।
नेपाल परिवार नियोजन संघ बाँके अध्यक्ष बदरुदुजा खाँको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य बादशाह कुर्मी, जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत विष्णु साहनी, नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका केन्द्रीय कार्यक्रम संयोजक विवेक रिसाल र सहजकर्ता जीवन गिरीले छुट्टाछुट्टै प्रस्तुतिकरण गरेका थिए । पत्रकार ओविराज आचार्यले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संघका कानून विशेषज्ञ इश्वरी प्रसाद ज्ञवालीले गरेका थिए ।











