कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय वर्ष उत्कृष्ट – Buletnews
कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय वर्ष उत्कृष्ट

अठारौँ पुस्तकालय दिवस भदौ १५ गते मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

  • बुलेट न्युज

बाँके: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रलाई यस वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गर्ने भएको छ । मन्त्रालयले अठारौँ पुस्तकालय दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१४ का गृहमाननसिंह श्रेष्ठलाई उत्कृष्ट पुस्तकालय अभियन्ता तथा गोकर्णेश्वर नगरपालिका–७ का जगदीशचन्द्र अर्याललाई उत्कृष्ट पुस्तकालयकर्मीका रूपमा सम्मान गर्ने निर्णय समेत गरेको छ ।

पुस्तकालय दिवस मूल समारोहमा उकृष्ट सम्मान, स्मारिका लोकार्पण तथा ‘रुम टु रिड’ को सहयोगमा कपिलवस्तुका तीन गाउँपालिकाभित्र ४८ विद्यालय पुस्तकालयको ‘भर्चुअल’ उद्घाटन गरिनेछ । पुस्तकालयको विकास र विस्तारका लागि महत्त्वपूर्ण योगदान पुरयाएबापत पुस्तकालय दिवस मूल समारोह समितिका उपाध्यक्ष तथा विद्यालय शिक्षा महाशाखा प्रमुख सहसचिव रुद्रप्रसाद अधिकारी संयोजक रहेको पाँच सदस्यीय सम्मान तथा पुरस्कार छनोट उपसमितिले उक्त निर्णय गरेको हो ।

सम्मान तथा पुरस्कारले पुस्तकालय क्षेत्रको विकास, सक्रियता र समुदायसँगको सम्बन्धलाई प्रोत्साहित गर्ने प्रचारप्रसार समिति संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए । अठारौँ पुस्तकालय दिवस यही भदौ १५ गते (भोलि) मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

सो अवसरमा सरकारी तथा गैरसरकारीस्तरमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको पनि संयोजक पाण्डेयले जानकारी दिए । उक्त दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलको संयोजकत्वमा मूल समारोह समिति गठन तथा विभिन्न उपसमिति गठन गरिएको छ ।

नेपाल सरकारले विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ । तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाइएको स्मृतिमा यो दिवस तय गरिएको हो ।

पुस्तक दिवसको यस वर्षको आदर्श वाक्य ‘हाम्रो पुस्तकालय स् हाम्रो भविष्य’ तय गरिएको छ । पुस्तकालय दिवस मुलुकभर विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रमका साथ मनाइँदैछ । नेपाल सामुदायिक पुस्तकालय सङ्घअन्तर्गतका सदस्य पुस्तकालयहरूले सातै प्रदेशमा भदौ १ देखि नै दिनहुँ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय, त्रिवि पुस्तकालय तथा विज्ञान केन्द्रीय विभाग, नेपाल लाइब्रेरी फाउन्डेसन, त्रिवि केन्द्रीय पुस्तकालय, पिपुल्स क्याम्पसलगायत शैक्षिक संस्थाले पनि विविध कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

दुई सामुदायिक पुस्तकालय स्थापना–भदौ १३ गते मोरङको लेटाङ–४ मा निर्माण भएको शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र विशेष समारोहबीच उद्घाटन भएको छ । यही भदौ १५ गते धर्मदेवी नगरपालिका–३, मुढे शनिश्चरेमा निर्माण गरिएको धर्मदेवी सामुदायिक पुस्तकालयको उद्घाटन गरिने कार्यक्रम छ ।

यसै अवसरमा गत बिहीबार अठारौँ पुस्तकालय दिवसकै सन्दर्भ पारेर सङ्घीय संसद् सचिवालयको संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा, पुस्तकालय शाखाले ‘पुस्तकालय ऐन स् आवश्यकता, औचित्य र महत्त्व’ विषयमा सांसद र सरोकारवालाबीच अन्तरक्रिया गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्