रवि छुट्ने भएपछि प्रचण्डलाई सुरु भयो छटपटी – Buletnews
रवि छुट्ने भएपछि प्रचण्डलाई सुरु भयो छटपटी
  • बुलेट न्युज

काठमाडौँ, १५ भदौः यो कुरा स्पष्ट छ कि यदि रवि लामिछाने छुट्ने भए र उनले राजनीतिमा पुनरागमन गरे भने सबैभन्दा बढी असुरक्षित माओवादी र यसका नेता पुष्पकमल दाहाल प्रचण्ड नै हुनेछन् ।

किनभने दुई ठूला पुराना दल नेकपा एमाले र नेपाली कांग्रेस जति नै घटे पनि समानुपातिक र प्रत्यक्ष गरी पहिलो र दोस्रो स्थानमा भइरहने नै छन् । आकार सानो वा ठूलो होला । यदि रास्वपाले चमत्कार नै देखाएछ र पहिलो नै भएछ भने पनि त्यसपछिका दल कांग्रेस र एमाले नै हुनेछन् ।

यहाँनिर सबैभन्दा जोखिममा प्रचण्ड छन् । एक त अब उनले चुनावमा कसैको बुइँ चढ्न पाउने छैनन् । कांग्रेस र एमाले बरु आपसमै मिल्न सक्छन् तर प्रचण्डलाई काँध थाप्न कोही हुने छैनन् । प्रचण्डकी छोरीका लागि पनि अब कांग्रेस र एमालेले आफ्नो सिट दाउमा राख्ने छैनन् ।

आउँदो चुनावमा कांग्रेस र एमालेले माओवादीसँग किन पनि गठबन्धन गर्ने छैनन् भने अब उनीहरु जित्नका लागि भन्दा पनि आफ्नो मत र संगठन सुरक्षित गर्न मात्रै भए पनि सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउनेछन् । विगतमा प्रचण्डले जसमाथि चढ्यो उसैको काँध विष्ट्याउने खालका चर्तिकला देखाए ।

त्यसैले प्रचण्ड प्रवृत्तिको अन्त्य नै आउँदो चुनावको एउटा महत्त्वपूर्ण एजेन्डा बन्नेवाला छ । यही बुझेर हुन सक्छ उनी रविलाई जेलभित्रै थुनिरहने र बाहिर रविका पक्षमा बोलेर उनको लोकप्रियतालाई भजाउँदै समर्थकको सहानुभूति आफू बटुल्ने दाउमा छन् । त्यही कारण प्रचण्डकै योजना र निर्देशनमा रवि थुनिएका हुन् भन्नेमा कुनै दुविधा छैन ।

अहिले पनि प्रचण्ड र रमेश लेखकको अघोषित साँटगाँठ छ भन्ने कुरा अरुले नबुझे पनि कांग्रेसभित्रका पूर्णबहादुर खड्कादेखि बालकृष्ण खाणसम्मका गृह प्रशासन बुझेका नेताहरुले राम्रोसँग बुझेका छन् । रविलाई थुनेर रमेश लेखकले प्रचण्ड र आरजु राणा देउवालाई एकसाथ रिझाउने मौका पाइरहेका छन् ।

तर अब रविले आफूमाथि लादिएको बिगो बराबरको रकम नै अदालतमा बुझाइसकेपछि उनलाई थुनामै राख्नुपर्छ भन्नेहरुमध्ये धेरैको मुखमा बुझो लागेको छ । र यसले अब न्यायिक प्रक्रियामा एउटा कोर्स लिइसकेको छ । जिल्ला अदालतले रविलाई छाड्ने आँट नगरे पनि सके उच्चबाट र नसके सर्वोच्चबाट उनी अब अवश्य छुट्ने भएका छन् ।

रविलाई जेलमा थुनेर उनको स्पेस कब्जा गर्ने दाउमा रहेका प्रचण्डलाई अहिले यही कारण टेन्सन भएको छ । नेपाली राजनीतिको एउटा लोपोन्मुख पार्टीका नेता प्रचण्ड छेपारालाई समेत लज्जित तुल्याउने गरी रङ फेर्न सक्छन् ।

उनले त्यो चरित्र रविका हकमा बारम्बार देखाइसकेका छन् । त्यसैले त उनी बेलाबेला गोहीका आँसु झारिरहन्छन् र रविका समर्थकको ताली खाने प्रयास गरिरहन्छन् । तर जतिसुकै प्रयास गरे पनि रविका समर्थक कम्तीमा प्रचण्डजस्ता नेतालाई बोकेर हिँड्दैनन् । प्रचण्डलाई बोक्ने स्तरको चेतना भएका कार्यकर्ता रास्वपामा छैनन् ।

प्रचण्डले १० वर्षे जनयुद्धका नाममा ढाँटेका कारण धोका खाएर हिँडेका ती युवा क्रान्तिकारीहरुको हालत के छ र प्रचण्ड परिवारको मोजमस्ती अनि सत्ता तथा अर्थतन्त्रमा हालीमुहाली कस्तो छ भनेर छुट्याउन सक्ने खुबी प्रत्येक रास्वपाका कार्यकर्तासँग छ । प्रचण्डले जस्तो कतै राजनीतिक सीमाविहीन मानवको अन्तर्राष्ट्रिय जाति हुनेछ भन्ने नारा त कहिले देशभित्रै बाइसे–चौबीसे खालका जातीय राज्यका नाराको कन्फ्युजन गराएर गरीब र बेरोजगार नेपालीको भिड जम्मा गरेर रास्वपा बनेको होइन ।

प्रतिक्रिया दिनुहोस्