सल्यानमा मेयरका भाइ र वडाध्यक्षले पत्रकार कुटे – Buletnews
सल्यानमा मेयरका भाइ र वडाध्यक्षले पत्रकार कुटे

कुटपिटबाट थापाको टाउको र आँखामा चोट

  • बुलेट न्युज

सल्यान:सल्यानका पत्रकार नोखिराम थापामाथि कुटपिट भएको छ । कुमाख राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक थापालाई श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा गएराति बेलुकी ९ बजेतिर खाना खाइरहेका थापालाई ५-६ जनाको समूहले एकाएक कुटेका थिए ।

शारदा नगरपालिका-६ का वडाअध्यक्ष भिकराज बुढाथोकी र प्रमोद भण्डारीको समूहले आफूलाई कुटपिट गरेको पत्रकार थापाले बताए । वडाध्यक्ष बुढाथोकी नेपाली कांग्रेसका नेता समेत हुन् भने भण्डारी शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीका सहोदर भाइ हुन् ।

कुटपिटबाट थापाको टाउको र आँखामा चोट लागेको छ । उनलाई उपचारका लागि श्रीनगरस्थित मेट्रो अस्पताल भर्ना गरिएको छ । केही दिनअघि सल्यान श्रीनगर बसपार्कसम्बन्धी समाचार लेखिएको कारण आफूलाई लक्षित गरी आक्रमण गरिएको पत्रकार थापाले बताए ।

उनले श्रीनगर बसपार्क हस्तान्तरण नहुँदै चिरा परेको समाचार प्रकाशित गरेका थिए । बसपार्कका ठेकेदारसँग प्रमोद र भिकराजको निकट सम्बन्ध भएको स्रोतको दाबी छ । पत्रकार थापा नेपाल पत्रकार महासंघ कर्णालीको प्रदेश परिषद् सदस्य र प्रेस चौतारी कर्णालीको प्रदेश कमिटी सदस्य छन् ।

ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भन्दै संलग्नविरुद्ध किटानी जाहेरी आज दिने थापाले बताएका छन् । पत्रकार महासंघ सल्यान शाखा अध्यक्ष डिल्लीराज रावतले पत्रकार कुट्नेलाई कारबाहीको माग गरेका छन् । ´समाचार लेखेकै कारण मेयरका भाइ र वडाध्यक्षबाट पत्रकार कुटिको छ । यो दु:खद घटना हो । राजनीतिक पहुँचमा छुट दिन मिल्दैन । कानून बमोजिम कारबाही हुनुपर्छ`, उनले भने ।
प्रतिक्रिया दिनुहोस्