काठमाण्डौ:सोमबार काठमाडौंको बानेश्वरचोकमा सुरक्षाकर्मीको गाली लागेर मृत्यु भएका १७ जनामध्ये १६ जनाको पहिचान खुलेको छ । काठमाडौंका विभिन्न अस्पताल पुर्याइएका उनीहरूको मृत्यु भएको थियो । सबै मृतक बानेश्वरचोकमा भएको गोलीकान्डमा मारिएका हुन् ।
१७ जनामध्ये ८ जनाको काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको थियो । ट्रमामा कीर्तिपुरका ४१ वर्षीय बुद्धबहादुर तामाङ, उदयपुरका बेलका–४ का २९ वर्षका सन्तोष विक, बाँकेका २५ वर्षका सुलभदास श्रेष्ठ, १९ वर्षका सयिम चौलागाईंको मृत्यु भएको थियो ।
यसैगरी, काठमाडौं बनस्थलीका २६ वर्षका ईश्वर अधिकारी, ठेगाना नखुलेका २९ वर्षका आयुष थापा, २७ वर्षका गौरव जोशी, सिन्धुपाल्चोक बाह्रबिसे–६ का २१ वर्षीय योगेश श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसैगरी, अर्घाखाँचीका १८ वर्षका निश्चल सारु मगर, गोरखा बारपाक सुलीको –५ का २२ वर्षका विमल भट्ट र अर्का एक जनाको युवाको सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार बनस्थलीका ३० वर्षका सौरभ किशोर श्रेष्ठ, बझाङ घर भई कीर्तिपुर बस्ने २३ वर्षीय सुशन बोहोराको केएमसी अस्पतालमा मृत्यु भएको थियो । त्रिवि शिक्षण अस्पतालमा २३ वर्षका रसिद खतिवडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बानेश्वरको एभरेष्ट अस्पतालमा पनि उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो । मृतकहरू ललितपुर महानगर– ७ का ३० वर्षका विनोद महर्जन, काभ्रे तिमालका ४२ वर्षका दली नारायण तामाङ र भक्तपुर दुवाकोटका २३ वर्षका योगेन्द्र न्यौपाने रहेका छन् ।











