व्यवसायीले गरे देशव्यापी यातायात बन्दको घोषणा – Buletnews
व्यवसायीले गरे देशव्यापी यातायात बन्दको घोषणा

शान्ति सुरक्षाको न्यूनतम प्रत्याभूति नभएसम्म यातायात सेवा सञ्चालन असम्भव

  • बुलेट न्युज

काठमाण्डौ:नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभरका सार्वजनिक तथा मालवाहक सवारीसाधन अनिश्चितकालीन रूपमा बन्द गर्ने घोषणा गरेको छ । मंगलबार महासंघले विज्ञप्ति जारी गर्दै पछिल्ला घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सेवा स्थगित गर्ने निर्णय सार्वजनिक गरेको हो । महासंघले भदौ २३ गते जेनजीले समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनका कारण १९ जना विद्यार्थीले ज्यान गुमाउनुपरेको र त्यसयता मुलुकभर जनजीवन प्रभावित भई कर्फ्यूसम्म लगाइएका घटनाले गम्भीर चिन्ता सिर्जना गरेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण प्रदर्शनमाथि राज्यको दमनबाट निर्दोष विद्यार्थीहरूले ज्यान गुमाउनु र आम जनजीवन त्रसित हुनुले हामीलाई स्तब्ध बनाएको छ । शान्ति सुरक्षाको न्यूनतम प्रत्याभूति नभएसम्म यातायात सेवा सञ्चालन सम्भव छैन ।’ अनिश्चितकालीन बन्दका कारण सार्वजनिक यातायातदेखि मालसामान ढुवानीसम्म प्रभावित हुने भएकाले देशभरको आर्थिक गतिविधि र दैनिक जीवनमा थप अवरोध हुने देखिएको छ । महासंघले सरकारसँग जिम्मेवार व्यवहार अपनाउन र शान्तिपूर्ण वातावरण कायम गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्