काठमाडौं: अनलाइन सञ्चार माध्यम बुलेट न्युजका सम्पादक तथा सामाजिक अभियन्ता संजय मण्डलमाथि मातृशोक परेको छ। उहाँकी ममतामयी माता राजकुमारीदेवी मण्डलको काठमाडौंस्थित वीर अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
वि.सं. २०२० सालमा मधेश प्रदेशको सिराहा जिल्लामा जन्मिनुभएकी राजकुमारीदेवी स्वर्गीय शिक्षासेवी तथा कुशल शिक्षक सूर्यनारायण मण्डलकी धर्मपत्नी हुनुहुन्थ्यो। जीवनभर परिवार, समाज र शिक्षाप्रति समर्पित रहनुभएकी उहाँले सुख–दुःखका प्रत्येक यात्रामा आफ्नो जीवनसाथीलाई साथ दिँदै आदर्श गृहिणीको परिचय दिनुभएको थियो।
स्वर्गीय सूर्यनारायण मण्डल शिक्षाको ज्योति फैलाउने उद्देश्यले सिराहाबाट बाँके आउनुभएको थियो। उहाँले बाँके जिल्लाका विभिन्न विद्यालयहरूमा लामो समयसम्म अध्यापन गर्दै हजारौं विद्यार्थीको भविष्य निर्माणमा योगदान पुर्याउनुभयो। जनता माध्यमिक विद्यालय सन्तकुटी, जनता आदर्श माध्यमिक विद्यालय डिगिया तथा त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा उहाँको शैक्षिक योगदान अझै स्मरणीय रहेको उहाँका समकालीन रामबहादुर गिरी बताउनुहुन्छ।
शिक्षा र समाजसेवाको विरासत बोकेको यस परिवारमा राजकुमारीदेवीले पनि सधैं प्रेरणादायी भूमिका निर्वाह गर्नुभयो। केही समयदेखि अस्वस्थ रहनुभएकी उहाँको विभिन्न स्वास्थ्य संस्थामा उपचार तथा परीक्षण गरिए पनि रोगको यकिन पहिचान हुन सकेको थिएन। पछिल्लो समय छोरा संजय मण्डलले उहाँलाई वीर अस्पतालमा भर्ना गरी उपचार गराउनुभएको थियो। चिकित्सकहरूको अथक प्रयासका बाबजुद उहाँलाई बचाउन नसकिएको भन्दै सम्पादक मण्डल भावविह्वल हुनुभयो।
स्वर्गीय राजकुमारीदेवी मण्डलका दुई सुपुत्र, एक बुहारी, एक नाति र एक नातिनी रहेका छन्। उहाँका जेठा छोरा संजय मण्डल सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ भने हाल बेटर बाँकेका अध्यक्षसमेत रहनुभएको छ।
उहाँको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पैतृक थलो सिराहा पुर्याइएको छ। हिन्दू परम्पराअनुसार परिवारजन, आफन्त तथा शुभेच्छुकहरूको अन्तिम दर्शनपछि सिराहास्थित मैनावती घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
राजकुमारीदेवी मण्डलको निधनसँगै एउटा परिवारले आफ्नी अभिभावक गुमाएको मात्र होइन, शिक्षाप्रेम, त्याग, ममता र संघर्षको एउटा जीवन्त अध्याय पनि बन्द भएको छ। उहाँले छाडेर जानुभएको संस्कार, स्नेह र प्रेरणाले परिवार तथा समाजलाई सदैव मार्गदर्शन गरिरहने विश्वास गरिएको छ।
बुलेट न्युज परिवार स्वर्गीय राजकुमारीदेवी मण्डलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ।











