कोहलपुर, बाँके: कोहलपुर नगरपालिकाले नगर सभा सञ्चालन हुने दिन नियमित सेवा प्रवाह प्रभावित हुने जनाएको छ। आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, बजेट तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरिने भएकाले आज असार १० गते बुधबार बिहान ७:०० बजेदेखि नगर सभाको विशेष अधिवेशनको पहिलो बैठक सञ्चालन हुने भएको छ।
नगरपालिकाद्वारा जारी सूचनाअनुसार नगर सभामा नगरपालिका पदाधिकारी, कर्मचारी तथा सम्बन्धित पक्षहरूको सहभागिता रहने भएकाले उक्त दिन कोहलपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अन्य नियमित सेवा प्रवाह स्थगित रहनेछ।
नगरपालिकाले सेवा लिन आउने सेवाग्राहीहरूलाई यसबारे पूर्वजानकारी दिँदै आवश्यक कामको योजना बनाउन आग्रह गरेको छ। साथै, सेवा प्रवाहमा पर्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्वारा हस्ताक्षरित सूचनामा नगर सभाको सफल सञ्चालनका लागि सबैको सहयोग अपेक्षा गरिएको उल्लेख गरिएको छ।











