हरियाली प्रबर्द्धन गर्न बाँकेमा ६ लाख बिरुवा बितरण – Buletnews
हरियाली प्रबर्द्धन गर्न बाँकेमा ६ लाख बिरुवा बितरण

यस वर्ष एकवर्षीय ५ लाख ८८ हजार ८७२ र बहुवर्षीय ८९ हजार ३०० बिरुवा उत्पादन

  • बुलेट न्युज

बाँके: बाँकेको राँझास्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न प्रजातिका ६ लाखभन्दा बढी बिरुवा किसानलाई निःशुल्क वितरण गर्न थालेको छ।

चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका कुल ६ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरी वितरण कार्य सुरु गरिएको हो।

वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताका अनुसार यस वर्ष एकवर्षीय ५ लाख ८८ हजार ८७२ र बहुवर्षीय ८९ हजार ३०० बिरुवा उत्पादन गरिएका छन्।

ती बिरुवाहरू हिजोदेखि नै स्थानीय किसानलाई वितरण गर्न थालिएको छ। नर्सरीमा विशेष गरी सागवान, मसला, बकाइनो, इपिल, गोल्डमोहर, शीतलचिनी, खयर, सिसौ, अम्बा, सेतो शिरीष, सिमल, वीरेन्द्रफूल, छतिवन र एकासिया जस्ता प्रजातिहरू बढी मात्रामा हुर्काइएका छन्।

यसका साथै अमला, छतिवन, जामुन, पारिजात, सतिसाल, कालो शिरीष, कागती, श्रीखण्ड, कनकचम्पा, राजवृक्ष, अर्जुन, धुपी, रिठा, कपुर, कुसुम र निलमफूल जस्ता वनस्पति पनि नर्सरीमा तयार पारिएका छन्।

किसानहरूलाई वितरण गर्न थालिएका यी बिरुवाहरूमा काष्ठजन्य, गैरकाष्ठ, फलफूल तथा विभिन्न प्रकारका सजावटका प्रजातिहरू समावेश छन्, जसले जिल्लाको वातावरणीय सन्तुलन र हरियाली बढाउन ठुलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्