भानु जयन्तीको अवसरमा कोहलपुरमा ‘आरण्यकाण्ड रामायण’ खुला वाचन प्रतियोगिता सम्पन्न – Buletnews
भानु जयन्तीको अवसरमा कोहलपुरमा ‘आरण्यकाण्ड रामायण’ खुला वाचन प्रतियोगिता सम्पन्न

ज्ञानोदय सामुदायिक पुस्तकालयको आयोजनामा साहित्यिक उत्सव, शोभना देवकोटा प्रथम

  • बुलेट न्युज

कोहलपुर, बाँके:  आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुर–११, बाँकेको आयोजनामा भानुभक्तकृत ‘आरण्यकाण्ड रामायण’ खुला वाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

भानु जयन्तीलाई साहित्यिक उत्सवका रूपमा मनाउने उद्देश्यले आयोजित कार्यक्रममा वक्ताहरूले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी नेपाली भाषा, साहित्य तथा राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यले पुर्‍याएको ऐतिहासिक योगदानको चर्चा गरेका थिए।

उनीहरूले ज्ञानोदय सामुदायिक पुस्तकालयले हरेक वर्ष भानु जयन्तीलाई विविध साहित्यिक तथा सिर्जनात्मक कार्यक्रममार्फत मनाउँदै आएको कार्यको प्रशंसा गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तामा पठन संस्कृति, वाचनकला र नेपाली साहित्यप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतियोगीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा शोभना देवकोटा प्रथम हुँदै नगद रु. ५ हजारसहित प्रमाणपत्र प्राप्त गरिन्। सुप्रभा उपाध्याय द्वितीय हुँदै नगद रु. ३ हजारसहित प्रमाणपत्र प्राप्त गरिन् भने सदिक्षा भट्टराई तृतीय हुँदै नगद रु. २ हजारसहित प्रमाणपत्रबाट सम्मानित भइन्।

कार्यक्रमको समापनमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने प्रमुख अतिथि, अतिथिगण, निर्णायक मण्डल, सहभागी, सञ्चारकर्मी, शुभेच्छुक तथा सम्पूर्ण साहित्यप्रेमीप्रति आभार व्यक्त गरेको छ।

पुस्तकालयले ‘भाषा बचाऔँ, साहित्य पढौँ, भानुभक्तको योगदानलाई पुस्तौँ–पुस्तासम्म जीवित राखौँ’ भन्ने सन्देशसहित नेपाली भाषा, साहित्य र पठन संस्कृतिको प्रवर्द्धनमा निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्